पहिरोले पुरिएर गुल्मीमा ४ जनाको मृत्यु, २ घाइते

पहिरोले पुरिएर गुल्मीमा ४ जनाको मृत्यु, २ घाइते

रुपन्देही । अविरल वर्षापछि आएको पहिरोले गुल्मीको मुसिकोटमा ४ जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा पहिरोले २ वटा घर पुर्दा ४ जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए। पहिरोमा पुरिएर ४८ वर्षका गोरे बिक, ६७ वर्षका हुमुक बिक, साढे दुई वर्षका रियन्सा बिक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर २३ वर्षकी मुना विक र ३२ वर्षकी विष्णु विकलाई स्थानीयले उद्धार गरेर नजिकैको स्वास्थ्य चौकीमा पठाएको प्रहरी निरीक्षक केसीले बताए। मङ्गलवार बिहान घरमाथिबाट लेदोसहितको पहिरोले विष्णु विकको घर र हुकुम विकको घर पुरिएको थियो । पहिरोमा पुरिएकाहरूको उद्धारको लागि प्रहरी सहायक निरीक्षक लखनलाल चौधरीको कमान्डमा ४ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।