काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति भोलि शुक्रवार सार्वजनिक गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिको सबै तयारी पुरा भएको भन्दै राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्ने बताएको हो ।
शुक्रबार बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैठकले समय तय गर्ने राष्ट्रबैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले बताए । यस पटक पनि साउन पहिलो सातामै मौद्रिक नीति आउने अनुमान गरिएपनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
अर्थतन्त्र दबाबमा रहेकाबेला सार्वजनिक हुन लागेको मौद्रिक नीति प्रति सबैको चासो रहेको छ । निजी क्षेत्रदेखि सबै सरोकारवालाले मौद्रिक नीतिलाई चासोका साथ पर्खिएका छन् ।
राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने संकेत गरेका छन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् ।