के समस्या थियो मर्मतका लागि पोखरा लान लागिएको सौर्यको जहाजमा ?

के समस्या थियो मर्मतका लागि पोखरा लान लागिएको सौर्यको जहाजमा ?

काठमाडौँ । आज बिहान सौर्य एयरलाइन्सको जहाज काठमाडौँबाट मर्मतका लागि पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भयो । उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन्, जसमध्ये अधिकांश एयरलाइन्सकै कर्मचारी हुन् ।

जहाजको इन्जिन मर्मतको लागि पोखरा लैजान लागिएको एयरलाइन्सले जनाएको छ । काठमाडौँमा मर्मत नगरेर पोखरा लैजानुको कारणबारे त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झासले विमानस्थलमा आफ्नै ह्याङ्गर नभएकाले पोखरा लैजानु परेको बताए ।

उनले भने, ‘काठमाडौँको त्रिभुवन विमानस्थलमा ठाउँ सानो छ । सौर्य एयरलाइन्सको आफ्नै ह्याङ्गर पनि छैन । पोखरामा ठुलो ठाउँ र खाली पनि छ । त्यसैले पोखरा लैजान खोजिएको थियो ।’

झाका अनुसार विमानस्थललाई जहाजले तिर्ने शुल्क काठमाडौँ र पोखरामा खासै फरक छैन । मर्मत गर्नका लागि पोखरा जान लागेको भए पनि जहाज उड्नको लागि योग्य रहेको उनले बताए ।

‘अन्य जहाजहरू पनि मर्मतका लागि आफ्नो अनकुल विमानस्थलहरूमा जाने गरेका छन् । केही जहाजहरूको भने त्रिभुवन विमानस्थलमा आफ्नै ह्याङ्गर भएकाले यहीँ मर्मत गर्ने गरेका छन्’, झाले भने । 

जहाजमा अधिकांश एयरलाइन्सका कर्मचारी थिए । एयरलाइन्सको उच्च तहका ४ सहित १८ जनाले ज्यान गुमाएका छन् ।