बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामाले गरे दाबी पेस

बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामाले गरे दाबी पेस

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले दाबी पेश गरेका छन् ।

कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनसहित लामाले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए ।

मंगलबार नै साँझ  पाँच बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ । नुवाकोटका लामा बागमती प्रदेशमा कांग्रेसबाट र तामाङ समुदायबाट पहिलो पटक मुख्यमन्त्री बन्दैछन् ।

लामाले सोमबार नै मुख्यमन्त्रीमा दावी गर्ने कार्यक्रम तय भएको थियो । तर, मन्त्रालय भागबण्डामा सहमति हुन बाँकी र एमालेभित्र मन्त्री छनौटको समस्या कारण दलका नेता जगन्नाथ थपलियासहितका सांसदहरू काठमाडौं हिँडेपछि दाबी पेश मंगलबारका लागि सारिएको थियो ।

बागमतीमा मन्त्रालय भागबण्डामा कांग्रेस(एमालेबीच सहमति भइसकेको छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएको कांगेस नेता लामाले जानकारी दिए । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय कसले लिन भन्ने विवाद थियो । एमालेलाई कृषि मन्त्रालय दिएर मन्त्रालय बाँडफाँड टुंग्याइएको लामाले बताए ।

११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेस र एमालेसँग ६४ सांसद छन् । प्रदेश सभामा नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुख बाहेक), नेकपा (एकीकृत समाजवादी) को ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।