मानव तस्करीको गम्भीर आरोप लगाएर उपसभामुखको चरित्र हत्या गर्न खोजियो : सुमना श्रेष्ठ

मानव तस्करीको गम्भीर आरोप लगाएर उपसभामुखको चरित्र हत्या गर्न खोजियो : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवंम पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ उपसभामुख इन्दिरा रानाको बचाउमा सदनमा उत्रिएकी छन्।

उपसभामुख रानालाई मानव बेचविखनको गम्भीर आरोप लगाएको भन्दै आफूखुसी मनपरी मिडियामा प्रचार नगर्न चेतावनी पनि दिएकी छन्। उपसभामुखको विरुद्ध मिडियामा प्रचार भएको भन्दै उनले सदनमा असन्तुष्टि पोखेकी हुन्।

अमेरिका जानका लागि ५ जनालाई सिफारिस गरेको भन्दै उपसभामुख इन्दिरा रानामाथि छानबिनको माग उठिरहेको छ। उक्त माग आइतबार जारी सदनमा पनि उठेको छ। मानव तस्करी गर्न सहयोग पुग्ने गरी सिफारिस गरेको भन्दै कांग्रेस सांसद रामहरि खतिवडाले आपत्ति जनाएका थिए।

उनले संसद्सँग कुनै साइनो नभएका ५ जनाका लागि अमेरिका जानका लागि पत्र पठाएको पाइएको र कसैलाई नचिनेको मान्छेलाई उपसभामुखले कसरी सिफारिस गरेको भन्दै छानबिन गर्न माग गरेका थिए। त्यसपछि बोलेकी सुमना श्रेष्ठले उपसभामुख रानालाई उक्त आरोप लगाएर चरित्र हत्या गर्न खोजेको आरोप लगाएको भन्दै आपत्ति जनाएकी हुन्।