मौद्रिक नीति आज सार्वजनिक नहुने

मौद्रिक नीति आज सार्वजनिक नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति आज सार्वजनिक गर्ने कार्यक्रम रोकिएको छ । राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले हिजो पारित गरेको मौद्रिक नीति आज बिहान सञ्चालक समितिले अनुमोदन गरेपछि दिउँसो सार्वजनिक गर्ने तयारी थियो ।

आज राष्ट्र बैंक सञ्चालक समितिको वैठक बालुवाटारस्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ । तर, मौद्रिक नीति सार्वजनिक हुने सम्भावना टरेको स्रोतले बतायो । मौद्रिक नीति पारित गर्ने एजेन्डा आजको वैठकबाट हटाइएको समेत स्रोतको दावी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजै आफ्नो आफ्नो आर्थिक सल्लाहकारमा डा‍. युवराज खतिवडालाई नियुक्त गरेका थिए । हिजै प्रधानन्त्री केपी शर्मा ओली र डा.  खतिवडाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएर मौद्रिक नीतिको व्रिफिङ लिएका थिए ।

सोही व्रिफिङमा डा. खतिवडाले केही संसोधनको आवश्यकता औंल्याएको स्रोत बताउँछ । राष्ट्र बैंकका भुतपुर्व गभर्नर समेत रहेका डा. खतिवडा मौद्रिक नीतिका विज्ञ हुन् । डा. खतिवडाले मौद्रिक नीति रोक्न आफूले निर्देशन नदिएको बताए । यद्यपि, नयाँ बनेको सरकारले आफ्ना कुराहरु समावेश गर्न चाहनु स्वभाविक हुने उनको प्रतिक्रिया छ ।

बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले नवनिर्मित केन्द्रीय कार्यालय भवनको सभाहलमा मौद्रिक नीति सार्वजनिक गर्न लागेको थियो । १० वर्षपछि आफ्नै भवनमा राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो ।