आज यी जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम, सुरक्षित रहन ‘अलर्ट’ जारी

आज यी जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम, सुरक्षित रहन ‘अलर्ट’ जारी

काठमाडौँ । सोमबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै तर बढ्दो अवस्थामा रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल महाकाली नदीमा जलसतह सतर्कता तह माथि रहेको हो। आज कन्चनपुर, कैलाली, डडेलधुरा र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव बढ्ने तथा स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहने पूर्वानुमान छ । साथै डोटी, बैतडी, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव बढ्ने तथा स-साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ ।

त्यस्तै ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, गोरखा, कास्की, अर्घाखाँची, पर्वत, पाल्पा, नवलपरासी (ब. सु. पूर्व), रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, अछाम, बाजुरा र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेको छ ।

आगामी ३ दिन कोशी, नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीहरू साथै बागमती, बबई, पश्चिम राप्ती, पश्चिम सेती, कन्काई, कमला, पूर्वी राप्ती, नदीको जलसतह उल्लेख्य बढ्दो हुने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। 

विभागका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका दोधारामा ५८८, सुन्दरपुरमा ४०९ र हनमाननगरमा ५५८ मिलिमिटर वर्षा भएको छ। सचेत गराउँदै विभागले अगाडि भनेको छ- बाढी र डुबानको  जोखिममा रहनुहुनेहरूका लागि सुरक्षित रहन हिजो राति एसएमएस पठाइएको, वर्षा थप हुने देखिएकाले डुबान भइरहने स्थानमा रहनेहरू दिउँसोसम्म सुरक्षित रहौँ।