काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सम्बन्धित सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मुलुकका विभिन्न भागमा अविरल वर्षापछि आएको बढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितहरूको उद्धारमा जुट्न निर्देशन गरेका हुन् ।
प्रधानमन्त्री दाहालले यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढीपहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरण गर्न सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेको जनाएका छन् ।
उनले सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध समेत गरेका छन् । प्रधानमन्त्रीले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपील समेत गरेका छन् ।