शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन थप बजेट विनियोजन गर्नुपर्छः मन्त्री श्रेष्ठ

शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन थप बजेट विनियोजन गर्नुपर्छः मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षाका ऐन, नियम र निर्देशिकाको पालनाका लागि अनिवार्य दायित्वका रूपमा बजेट विनियोजन हुन आवश्यक रहेको औँल्याएकी हुन् ।

शिक्षाका लागि अतिरिक्त बजेट कसरी निर्धारण गर्ने भनेर सोच्नुपर्नेमा जोड दिँदै उनले गुणस्तरीय शिक्षाका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट अध्ययन र अनुसन्धान गरेर निचोड निकाल्नुपर्ने बताइन् ।

विद्यालय शिक्षालाई गुणस्तरीय र राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न ‘शिक्षक सरूवासम्बन्धी निर्देशिका २०८१’ जारी गरेको उनी बताउँछिन् । “शिक्षण पेसा भनेको जागिरको विषय होइन, दायित्व हो । उनीहरू जतिबेला पनि विद्यार्थीको सिकाइमा केन्द्रित हुनुपर्छ”, श्रेष्ठले भनिन्, “त्यसैले शिक्षकलाई कुनै पनि राजनीतिक दलको जिम्मेवारी र सदस्यमा राख्नुहुन्न । यसका लागि म सबै राजनीतिक दलको सहयोगको अपेक्षा गर्दछु ।”

मन्त्री श्रेष्ठले शिक्षक ‘पोर्टल’ निर्माणगरी एकीकृत तथ्याङ्क तयार गर्ने र सरूवालाई वैज्ञानिक बनाउन उक्त पोर्टल सहयोगी हुने बताइन् । उनले ‘साथीसँग सिकाइ’ कार्यक्रमका साथै एक हजार विद्यार्थीलाई प्रशिक्षण दिएर हरेक पालिकामा पठाउने जानकारी दिइन् ।

मन्त्री श्रेष्ठले शैक्षिक परामर्श केन्द्र र विदेशी सम्बन्धनमा सञ्चालित कलेजहरूको दर्ता, नवीकरण र अनुगमनका लागि विगतमा काम नभएको पाइएकाले अहिले अनुगमन सुरू गरिएको पनि स्पष्ट पारिन् ।