एआइजीमा सिफारिस भएका पोखरेल डिआइजीमै अवकाश

एआइजीमा सिफारिस भएका पोखरेल डिआइजीमै अवकाश

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस भएका पोषराज पोखरेल प्रहरी नायब महानिरीक्षक (डिआइजी) मै अवकाशमा गएका छन्।

गत असार १० गते बसेको बढुवा समिति बैठकले डिआइजी पोखरेललाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो। तर बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यसबारे कुनै निर्णय गरेको छैन। त्यसो हुँदा उनी ५६ वर्षको उमेर हदअनुसार अवकाशमा गएका हुन्। प्रहरी नियमावली २०७१ अनुसार एआइजी र डिआइजीको ५६ वर्षमा उमेर हदले अवकाश पाउँछन्।

असार १८ गते एआइजी उमेशराज जोशी अवकाशमा गएका थिए। उनी अवकाशमा जानुअघि नै बढुवा समितिले एआइजीमा पोखरेललाई बढुवा सिफारिस गरेको थियो। सिफारिसअनुसार पोखरेल बढुवा भएको भए दुई दिनका लागि मात्रै एआइजी हुने थिए। 

दुई दिनका लागि मात्रै एआइजीमा सिफारिस गरको भन्दै आलोचनासमेत भएको थियो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख रहेका पोखरेललाई उनको कार्यालयले बिहीबार नै बिदाइ गरिसकेको छ ।