काठमाडौं महानगरले खाने तेल परीक्षण गर्दा यी ४ ब्रान्ड अस्वस्थकर

काठमाडौं महानगरले खाने तेल परीक्षण गर्दा यी ४ ब्रान्ड अस्वस्थकर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १३ ब्राण्डका खाने तेलको नमूना परीक्षण गर्दा ४ वटा ब्रान्डमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएको पाइएको छ ।

यसरी मापदण्डभन्दा धेरै पारोक्साइड भ्यालु र एसिड भ्यालुको मान सरकारले सोयाविन तेलका लागि तोकेको अनिवार्य गुणस्तर नहुनेमा, २०८० पुस २७ गते उत्पादन भएको, पक्वान व्राण्डको व्याच/लट नं.  (S)-2   को रिफाइन सोयाविन आयल एउटा हो । यो श्रीराम रिफाइन्ड आयल प्राडक्ट, मोराङ्को उत्पादन हो । 

यस्तै २०८० कार्तिकमा उत्पादन भएको अमृत ब्राण्डको व्याच/लट नं. ११ को रिफाइन सोयाबिन आयल र  २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी व्राण्डको व्याचरलट नं. ०८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएको हो । यी उत्पादनहरु क्रमशः अन्नपूर्ण भेजिटेवल प्रोडक्ट प्रा. लि., वीरगञ्ज पर्सा र क्वालिटी आयल रिफाइनरी प्रा. लि., कटहरी विराटनगरका हुन् ।  

यस्तै २०८० साल माघमा उत्पादन भएको, व्याच/लट नं. १० को फेमिली ब्राण्डको आयातीत तोरीको गेडाबाट स्वदेशमा उत्पादन भएको तोरीको तेलमा पारोक्साइड भ्यालु मापदण्डमा नरहेको पाइएको, कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिनुभयो । यो शिवशक्ति घ्यू उद्योग जीतपुर, बाराको उत्पादन हो।

यसरी मापदण्ड विपरीत तेल उत्पादन गर्ने व्राण्डहरु हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना गराइएको छ । नमूना परीक्षणका लागि बैशाख ३१ गते ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’  बबरमहल पठाइएको थियो । यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि कारवाही गरिएको हो ।