नयाँ दलको पुरानो रवैया, रविको दबाबमा पोषराज पोखरेललाई बनाइयो २ दिनका लागि एआईजी

नयाँ दलको पुरानो रवैया, रविको दबाबमा पोषराज पोखरेललाई बनाइयो २ दिनका लागि एआईजी

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको दबाबमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई २ दिनका लागि अतिरिक्त महानिरीक्षक (एआईजी) बनाइने भएको छ। 

असार १९ गते एआईजी उमेशराज जोशी उमेर हदका कारण अनिवार्य अवकाश हुने भएपछि एक जना एआईजीको दरबन्दी रिक्त हुनेछ। तर उक्त स्थानका लागि जोशीभन्दा दुई दिनपछि अवकाश हुने डीआईजी पोषराज पोखरेललाई सिफारिस गरिएको छ।

आइतबार गृहसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले हाल ट्राफिक महाशाखा प्रमुख रहेका पोखरेललाई सिफारिस गरेको हो। बढुवा हुनु एक साताअघि नै सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ। 

पोखरेललाई १९ गते दर्ज्यानी चिन्ह प्रदान गर्ने गरी बढुवाको सिफारिस गरिएको हो। अब  १९ गतेअघि उनलाई बढुवा गर्न मिल्दैन भने त्यसपछि गर्दा पनि उनको अवकाशको मिति आउँछ। पोखरेल उमेर हदका कारण असार २१ गते अनिवार्य अवकाश हुनेछन्। 

उनको बढुवाले प्रहरी संगठनलाई कुनै लाभ नपुगे पनि उनका लागि भने केही फाइदा हुनेछ। एक त माथिल्लो पदबाट अवकाश पाउँदा अवकाशपछि सेवा सुविधा (पेन्सन) बढ्छ। अर्को, विशिष्ट श्रेणीबाट अवकाश हुँदा पछि संवैधानिक निकायमा समेत नियुक्ति सहज हुन्छ।

स्रोतका अनुसार, गृहमन्त्री लामिछानेले आफ्ना कानुन व्यवसायी सुशील पन्तका आफन्त (भान्जा) रहेका पोखरेललाई एआईजी बनाउन बढुवा समितिमा दबाब दिएका थिए। लामिछानेले उनलाई यसअघि वैशाखमै एआईजीमा बढुवाको प्रयास गरेका थिए। तर अन्तिम समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको दबाबमा भीमप्रसाद ढकाललाई एआईजीमा बढुवा गरिएपछि पोखरेलको रोकिएको थियो।

गृहमन्त्री लामिछानेले त्यसअघि नै उमेशराज जोशीलाई भने एआईजीमा बढुवा गर्ने वचन दिइसकेका थिए। जोशी वरीयतामा पहिलो नम्बरमा पनि थिए। जोशी र ढकाललाई वैशाख २७ गते एआईजीमा बढुवा गरिएको थियो। जोशी आईजीपी वसन्तबहादु कुँवरकै ब्याची हुन् भने ढकाल एआईजी दीपक थापाका ब्याची हुन्। 

हाल बढुवा सिफारिस भएका पोखरेल पनि आईजीपी कुँवरकै ब्याची हुन्। यसअघि डीआईजी बढुवा गर्दा जुनियरलाई गरिएको भन्दै निर्णय विवादमा परेको थियो।