यस वर्ष नेपालका  यी ८ ठाउँमा अहिलेसम्मकै उच्च तापक्रम मापन

यस वर्ष नेपालका  यी ८ ठाउँमा अहिलेसम्मकै उच्च तापक्रम मापन

काठमाडौँ । यस वर्ष देशका आठ ठाउँमा अहिलेसम्मकै बढी तापक्रम मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको देशभरका तापमापन स्टेशनमध्ये आठ वटा स्टेशनमा अहिलेसम्मकै उच्च तापक्रम मापन भएको विभागका मौसमविद् सुदर्शन हुमागाँईले जानकारी दिए ।

उहाँका अनुसार यस वर्ष भक्तपुरको चाँगुनारायण, सुनसरीको धरान, बाराको करैयामाई, खोटाङको दिक्तेल, सिन्धुपाल्चोकको चौतारा, जुम्लाको सदरमुकाम, बैतडीको पाटन र कैलालीको टीकापुरमा अहिलेसम्मकै उच्च तापक्रम मापन भएको हो । यस्तै काठमाण्डौमा यस वर्ष २५ वर्षयताकै गर्मी भएको छ । यस वर्ष देशका धेरैजसो ठाउँमा उच्च तापक्रम धेरै दिन रहँदा अत्यधिक गर्मी महसुस भएको छ ।

नेपालमा मात्र नभई संसारभर पछिल्लो समय गर्मी बढिरहेको छ । मौसमविद्ले गर्मी बढ्नुको मुख्य कारण जलवायु परिवर्तन रहेको बताएका छन् । युरोप र अमेरिकामा केही वर्षदेखि अत्यधिक गर्मी बढेको छ । यो वर्ष उत्तरी भारतमा एक हप्ताभन्दा लामो समय तातो हावाको लहर चल्यो । यस वर्ष साउदी अरबमा उच्च गर्मीका कारण झन्डै एक हजार हजयात्रीको ज्यान गएको छ ।

विश्वव्यापी रूपमा उच्च गर्मी भोगिरहँदा यस वर्ष नेपालमा पनि प्रि–मनसुनको समयमा अत्यधिक गर्मी भएको छ । विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालमा यस वर्ष प्रि–मनसुनमा पर्याप्त वर्षा नहुनुले पनि गर्मी बढेको मौसमविद् हुमागाँईले बताए ।