आकाशमा बिहानैदेखि मनसुनी बादल,  यी स्थानमा भारी वर्षाको सम्भावना

आकाशमा बिहानैदेखि मनसुनी बादल,  यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भू–भागमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार यतिबेला उपत्यकाको मौसम साधारणतया बदली (आकाशमा बादल) छ।  ‘दिउँसो वर्षा हुने सम्भावना छ’, उनले भने। उनका अनुसार आज काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का तथा यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा भनिन्छ। 

मौसमविद् अर्यालका अनुसार आज दिनभर उपत्यकाको मौसम बदलीकै अवस्थामा रहनेछ। ‘बीचबीचमा घाम देखिए पनि फेरि बादल आउने र वर्षा हुने क्रम चलिरहने देखिन्छ’, उनले भने। 
काठमाडौँ उपत्यकामा हाल भइरहेको मौसम बदली र वर्षा मनसुनी प्रणालीकै कारण हो। ‘तर यसमा अलिअलि स्थानीय वायुको पनि प्रभाव मिसिएको छ’, मौसमविद् अर्यालले भने। 

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।