काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जस्तै सक्षम बनेर देखाउन महिला नेतृत्वलाई सुझाव दिएका छन्।
बिहीबार नेपाल महिला संघको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री देउवाले पुर्वराष्ट्रपति भण्डारी जस्तै सक्षम बन्न महिला नेतृलाई सुझाव दिएका हुन्।‘अहिले संसारभरी नै महिलाहरुको अधिकारका लागि, महिलाहरुको समावेशीकरणका लागि,समानुपातिक विकासका लागि संसारभरी नै एउटा आवाज उठेको छ।’ सभापति देउवाले भने, ‘त्यही हिसाबमा नेपालमा पनि महिला राष्ट्रपतिसमेत नेपालमा हुनुभएको छ, दुई पटक हुनुभएको छ विद्या भण्डारी जी।
भोलिका दिनमा पनि यस्तै ठाउँहरु महिलाहरुले पाउनु हुनेछ। महिलाहरुले त्यस किसिमको योग्य र त्यस किसिमको सक्षम र सबै किसिमको तयारीका साथ अघि बढ्नुपर्छ।’ उनले निर्वाचनमा अन्य पार्टीका महिला उम्मेदवारले जित्ने आफ्नो पार्टीले हार्ने भइरहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए । साथै कांग्रेसमा अन्तर्घातको रोग भएकाले यसबाट मुक्त गराउन महिलाको भूमिका आवश्यक पर्ने उनले जोड दिए ।