काठमाडौँ । संसद् भवनभित्र प्रहरी जवान अजित गोलेले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । बुधबार बिहान नयाँ बानेश्वरस्थित संसद् भवनको ड्युटीमा खटिएका दोलखाको मेलुङ गाउँपालिका-४ घर भएका प्रहरी जवान २२ वर्षीय गोलेले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।
गोलेले आफैंले बोकेको इन्सास राइफलले आफैंलाई गोली हानेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीका अनुसार गोलेले आफ्नै निधारमा गोली हानेका हुन् । उनको शव बुधबार बिहान संसद् भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो । आज विहान सवा ८ बजे उनी मृत अवस्थामा फेला परेका थिए ।
गोलेको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको बानेश्वर प्रहरी वृत्तका डिएसपी शिवराज बुढाथोकीले बताएका छन् । शौचालयमा पुगेर फोनबाट कोहीसँग कुरा गरिरहेको हुन सक्ने प्रहरीको अनुमान रहेको उनले बताए ।
अनुसन्धानमा खटिएका डिएसपी बुढाथोकीले भने 'शौचालयमा एउटा मोबाइल भेटिएको छ । ठड्याएको अवस्थामा मोबाइल भेटिएकाले मोबाइलबाट कसैलाई गोली हानेको देखाउँदै र फोन गर्दागर्दै हो कि भन्ने जस्तो छ । ती सबै कुराहरू हाम्रो अनुसन्धानमा छ ।'
मोबाइल फरेन्सिक ल्याबमा पठाइसकेको उनले जानकारी दिए । त्यहाँबाट आएपछि मात्र डिटेल थाहा हुने उनको भनाइ छ । पारिवारिक त्यस्तो कुनै घटना वा कारण केही नखुलेको उनले उल्लेख गरे ।
अविवाहित गोलेले इन्गेटमेन्ट (टिकाटालो) भने गरिसकेका थिए । करिब ५ महिनाअघि आफ्नी प्रेमिकासँग गोलेले इन्गेजमन्ट गरेका थिए । इन्गेजमेन्टपछि गोलेले खर्च गरेर आफ्नी प्रेमिकालाई दुबई पठाएका थिए । करिब ५ महिनादेखि उनकी प्रेमिका दुबईमा छिन् ।
तर दुबई पुगेपछि प्रेमिकाले उनलाई वास्ता गर्न छाडेको भन्दै उनीहरुबीच विवाद हुने गरेको थियो । उक्त कुरा उनीहरुको मोबाइलमा भेटिएको म्यासेजबाट समेत पुष्टि हुने ती अनुसन्धान अधिकृतले बताए । प्रेमिकासँग विवाद भएको बेलामा पटक–पटक उनले ‘मर्छु’ भन्दै म्यासेज पठाउने गरेको समेत भेटिएको छ ।
‘प्रेमिकासँग विवाद हुन थालेपछि गोलेले पटक पटक ‘मर्छु’ भन्दै सामाजिक सञ्जालमा प्रेमिकालाई म्यासेज गरेको समेत भेटिएको छ’, ती अधिकृतले सुनाए ।
बुधबार बिहान आत्महत्या गर्नुअघि समेत ‘मर्छु’ भन्दै म्यासेज गरेको र त्यसपछि भिडिओ कल गरेको समेत देखिएको छ । ‘भिडिओ कल र घटना पनि एकै समयमा भएको पाइएको प्रहरी स्रोतले जानकारी दियो ।
भुईँमा बन्दुक राखेर निधारतर्फ तेर्साएर खुट्टाले ट्रिगर दाबेको जस्तो देखिएको उनले सुनाए । उनले आफैंले बोकेको इन्सास बन्दुकबाट १ राउण्ड गोली हानेको पाइएको छ ।