विपीन जोशीको घरमा पुगे इजरायली राजदूत, रिहाइबारे के छ सन्देश ?

विपीन जोशीको घरमा पुगे इजरायली राजदूत, रिहाइबारे के छ सन्देश ?

टीकापुर । नेपालका लागि इजरायली राजदूत हनान गोडर झण्डै आठ महिनादेखि विद्रोही समूह हमासले बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको कञ्चनपुरस्थित घरमा पुगेका छन् । 

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डाक्टर हेमराज पन्तसहित विद्यार्थी जोशीको घर पुगेका राजदूत गोडरले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि इजरायल सरकार लागि परेको जानकारी गराएका हुन् ।

आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगरस्थित विपीन जोशीको घरमा पुगेको गोडर नेतृत्वको टोलीले जोशीको पारिवारिका अवस्थाबारे जानकारी लिएको थियो । लर्न एण्ड अर्न कार्यक्रममार्फत् सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका जोशीको अवस्था अज्ञात छ । घटनामा विश्वविद्यालयका दश विद्यार्थीले ज्यान गुमाएका थिए ।  

राजदूत गोडरले विपीनलाई इजरायली नागरिक सरह सम्झेर खोजी जारी राखेको बताए । ‘विपीनले घटनाका बेला धेरैको ज्यान बचाएर आफू हमासको कब्जामा परे’ उनले भने, ‘यस विषयमा इजरायल सरकार सक्रिय भएर खोजीमा जुटेको छ ।’

विपीनका भाई नाता पर्ने किशोर जोशीले राजदूत गोडरसँग जोशीको परिवारले रिहाइका लागि पहल गरिदिन र उनको अवस्थाबारेमा जानकारी मागेको बताए । ‘राजदूतले खोजी जारी राखेका छौँ, ढुक्क हुनुहोस् भने,’, जोशीले भने, ‘उनले परिवारका हामी सदस्यसँग भेटघाटका लागि यहाँ आएका रहेछन् ।’

जोशीले आठ महिनाभन्दा बढी समय बितिसक्दा पनि विपीनको अवस्थाबारे जानकारी हुन नसक्दा परिवार तनावग्रस्त रहेको बताए ।