फेरि कांग्रेस र माओवादीको सरकार बन्ने गगन थापाको संकेत, के छ गृहकार्य ?

फेरि कांग्रेस र माओवादीको सरकार बन्ने गगन थापाको संकेत, के छ गृहकार्य ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फेरि कांग्रेस र माओवादी केन्द्रसहितको सरकार बन्ने संकेत गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच हिमचिम बडिरहेको बेला आएको गगनको प्रतिक्रियालाई अर्थपूर्ण मानिएको छ । 

आज प्रतिनिधिसभा बेठकमा बजेटमाथिको छलफलको क्रममा थापाले समीकरण फेरिने संकेत दिएका हुन् । त्यसो त कांग्रेस र माओवादीका दोस्रो तहका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई कोर्ष करेक्शन गर्ने अवस्थामा पुर्याउन भन्दै नियमित वार्ता नगरेका होइनन् । तर यी छलफलहरुले ठोश परिणाम भने निकालिसकेका छैनन् । 

अर्थमन्त्री वर्षमान पुनको आलोचना गर्ने क्रममा थापाले भने, ‘यति धेरै उथलपुथल भएको यो संसदमा केही महिनापछि यो बजेट आफैँले काँध हाल्नुपर्ने पो हो की। आफ्नै बोली फेरि गलपासो हुने हो की। मैले बोल्ने तयारी गर्दा अर्थमन्त्रीज्युलाई सामान्य प्रश्न मात्र सोध्ने कुरा सोचेँ।’

त्यसोत थापाले सरकारले बजेटमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यको आधार नभएको बताए।  उनले अर्थमन्त्री वर्षमान पुनले ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर गरेको दाबीको आधार माग गरे।


उनले भने, ‘अर्थमन्त्रीज्युले यो वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भन्नेकुराको प्रक्षेपणको दाबी गर्नुभएको छ। अघिल्लो वर्ष पनि ठिक त्यस्तै दाबी थियो। ४ प्रतिशतको भन्दा कम रह्यो। यो वर्ष हाम्रा विकास साझेदार, चाहे एशियाली विकास बैंक होस्, चाहे आइएमएफ होस् कसैल ४ भनिरहेको ठाउँमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर जुन दाबी गर्नुभएको छ। यसको आधार के हो ?’

उनले मौसमको अनुमानको आधारमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हुन्छ भन्नेकुराको स्पष्ट जवाफ अर्थमन्त्रीले दिनुपर्ने बताए। 

महामन्त्री थापाले बजेटमा राजश्वको अनुमान १४ खर्ब १९ अर्ब राखिएको र लिएको लक्ष्य सबैभन्दा उच्चवृद्धि हुनुपर्ने बताए। करिब ३४ प्रतिशत वृद्धि भएमात्रै सरकारले लिएको लक्ष्य भेटिने जिकिर गरे।