गणतन्त्र दिवसको अवसरमा टोकियोमा भव्य कार्यक्रम गर्दै नेपाली जन प्रगतिशील मञ्च जापान

गणतन्त्र दिवसको अवसरमा टोकियोमा भव्य कार्यक्रम गर्दै नेपाली जन प्रगतिशील मञ्च जापान

टोकियो । नेपाली जन प्रगतिशील मञ्च जापान राष्ट्रिय कमिटीको आयोजनामा टोकियोमा भव्य कार्यक्रम गरिने भएको छ। मञ्चले गणतन्त्र दिवसको अवसर पारेर “गणतन्त्रको उपलब्धि र चुनौती”विषयक बृहत् अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो। 

आउँदो जुन २ तारिख आइतबारको दिन गर्न लागिएको उक्त कार्यक्रममा विभिन्न सङ्घसंस्था लगायत जापानको राजदूतलाई समेत निमन्त्रणा गरिएको मञ्चका महासचिव दावा लामा शेर्पाले जानकारी दिए। 

नेपाली राजनीतिक इतिहासमा भएका विभिन्न आन्दोलनहरूमध्ये २०५२ सालको जनयुद्ध हुँदै  ०६२–०६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिबाट नै गणतन्त्र  सम्भव भएको हुनाले गणतन्त्रको क्रेडिट आफ्नो सङ्गठनले अलि बढी लिएर नै कार्यक्रम गर्न लागिएको मञ्चका अध्यक्ष मोहन पौडेल बताउँछन्। यद्यपि गणतन्त्र प्राप्तिका लागि सबै राजनीतिक दलहरूको भूमिका उत्तिकै रहेको अध्यक्ष पौडेलको दाबी छ। 

जापानको टोकियो स्थित रोयल गार्डेन रेस्टुरेन्टमा गरिने उक्त कार्यक्रमको ब्यानर सहित प्रचारप्रसारको काम तीव्र पारिएको प्रवक्ता जिपि लामिछानेले बताए। 

नेपालमा गणतन्त्र प्राप्तिका लागि आफ्नो सङ्गठन मात्रै नभई अन्य सङ्घसंस्था र सङ्गठनको भूमिका पनि उत्तिकै रहेको हुनाले सबैको उपस्थितिलाई समेत जोड दिँदै निमन्त्रणा गरिएको मञ्चका उपाध्यक्ष बाबुराम पौडेलले बताए। 

उक्त कार्यक्रममा एसिया प्रदेश सङ्गठनका सह संयोजक डाक्टर भूपालमान श्रेष्ठ, सचिव भवानी पन्त, सदस्यहरू कालिका थापा, सालिकराम भण्डारी, हवलचन्द्र लामा ,रामहरि पुडासैनी लगायतको उपस्थिति रहने छ । उक्त कार्यक्रमको समय भने दिउँसो २ बजेका लागि तोकिएको छ।