काठमाडौं । सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समिति गठन नभएसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिने चेतावनी दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिने तयारी गरिरहेको सन्दर्भमा कांग्रेसले प्रतिनिधि सभा बैठकमा अवरोध गर्ने चेतावनी दिएको हो ।
कांग्रेसले विश्वासको मत नदिन सांसदहरुलाई ह्वीप जारी गरेको छ । आज बिहान बसेको संसदीय दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरुलाई ह्वीप जारी गर्नुका साथै संसदको अवरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले सोमबार संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा कांग्रेसको निर्णयले बैठक प्रभावित हुने देखिएको छ ।
जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेलाई पत्र पठाएर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेका थिए ।प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ ।
२०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । यसअघि कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १५७ सांसदको समर्थन पाएका थिए ।
उनले ६ चैतमा दोस्रोपटक र २६ पुसमा पहिलोपटक विश्वासको मत पाएका थिए । पहिलोपटक विश्वासको मत लिँदा २६८ सांसदको अभूतपूर्व समर्थन पाएका प्रचण्डले दोस्रोपटक १७२ सांसदको साथ पाएका थिए । तेस्रोपटक उनले दोस्रोपटकको तुलनामा १५ मत कम पाएका थिए ।