काठमाडौँ । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर बनेको नयाँ दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले अशोक राईको नेतृत्वमा नयाँ दल दर्ता गर्ने आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।
यादवले अशोक राई नेतृत्वमा बनेका सात जना सांसदलाई निलम्बन गर्नुपर्ने माग गरेका छन्। दायर गरेको रिटमा ७ सांसदको पद निलम्बनमा राख्न र कुनै पनि संसदीय गतिविधिमा सहभागी हुन नदिन, दलको नाम, झण्डा, र छाप प्रयोग नगर्न अन्तरिम आदेश माग गरिएको छ।
त्यस्तै, रिटमा अशोक राई नेतृत्वको नयाँ दलमा आवद्ध सांसदहरुलाई संघीय संसदको सदस्यको हैसियतले कुनै पनि कार्य गर्न नदिनू भनि परमादेशको आदेश समेत माग गरिएको छ।
रिट निवेदनको टुंगो लाग्न समय लाग्ने र त्यस अवस्थासम्म तत्काल अन्तरिम आदेश जारी नगरिए रिटको औचित्य नै समाप्त हुने भन्दै यादवले अन्तरिम आदेश समेत माग गरेका छन्।
निर्वाचन आयोगले दल दर्ता गर्दा उल्लेख गरेका ८ बुँदे निर्णय कार्यन्वयन नगर्न र यथास्थितिमा राख्न अन्तरिम आदेश माग गरिएको छ।