काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्यत भएको निष्कर्ष निकालेको छ।
शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार संसद् पनि चल्न नदिने, छानबिन समिति पनि बनाउन नदिने रणनीतिमा रहेको ठहर गरेको हो।
बैठकपछि महामन्त्री गगन थापाले पत्रकारहरूसँग भने, ‘जसरी भए पनि संसद पनि चल्न नदिने, छानबिन समिति पनि बनाउन नदिनेतर्फ सरकार उद्यत भएको हाम्रो निष्कर्ष छ।’
अब जेठ १ गतेको संसद् बैठकमा कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्न सोमबार संसदीय दलको बैठक बस्ने निर्णय भएको महामन्त्री थापाले जानकारी दिए। ‘पदाधिकारी बैठकले सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बस्ने तय गरेको छ’, उनले भने, ‘उक्त बैठकबाट के कसरी अघि बढ्ने भनेर निर्णय गर्छ।’
यस क्रममा थापाले गृहमन्त्री लामिछानेले सहकारीको रकम अपचलन गरेको प्रमाण आइसकेको दाबी पनि दोहोर्याए। ‘प्रमाण खोज्न कहीँ जान पर्दैन। सरकारी अड्डामा गएर तथ्य केलाए हुन्छ। यही तथ्य प्रमाणका आधारमा प्रमाणित हुन्छ। यसलाई संसदीय समितिबाट आधारहीन छन् भनेर प्रमाणित गर्न चुनौती दिन्छौँ। तपाईंहरूकै बहुमत छ गलत हुन भनेर साबित गर्न चुनौती छ’, उनले भने।