झगडा छुट्याउन गएका प्रहरीमाथि कुटपिट, ३ जना पक्राउ

झगडा छुट्याउन गएका प्रहरीमाथि कुटपिट, ३ जना पक्राउ

पोखरा । स्याङ्जामा युवाको कुटपिटबाट प्रहरी चौकी थुमपोखरीका इन्चार्ज असई मनोजकुमार सिंह घाइते भएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनकाअनुसार सिंहसहित ३ जना प्रहरी घटनास्थलमा पुगेका थिए । कुटपिटबाट असई सिंहको नाकमा चोटपटक लागेको र पोखरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रानाले बताए । कुटपिटमा ढुंगासमेत प्रहार गरेको उनको भनाइ छ ।

कुटपिटमा संलग्न तीन जनालाई पक्राउ परेका छन् । पक्राउ गर्नेमा २५ वर्षीया काजी गुरुङ, २४ वर्षीय सुदीप गुरुङ र २८ वर्षीय रविन गुरुङ रहेको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिए ।