काठमाडौं फेरि प्रदूषित सहरको एक नम्बरमा, अत्यावश्यक नपरी घरबाहिर ननिस्कन चिकित्सकको सुझाव

काठमाडौं फेरि प्रदूषित सहरको एक नम्बरमा, अत्यावश्यक नपरी घरबाहिर ननिस्कन चिकित्सकको सुझाव

काठमाडौं । काठमाडौं आज फेरि विश्वकै पहिलो प्रदूषित सहरमा सूचीकृत भएको छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार सोमबार बिहान ११ः१५ बजे काठमाडौं विश्वका १२२ सहरमध्ये सबैभन्दा प्रदूषित भएको छ ।

आईक्यू एयरका अुनसार काठमाडौंमा सो समय वायुको गुणस्तर १७६ एक्यूआई पुगेको छ ।  योसहित चैतयता नेपाल तेस्रोपटक विश्वका प्रदूषित सहरको एक नम्बरमा परेको हो ।  दोस्रोमा चीनको बेइजिङ १६३ एक्यूआई र भारतको कोतकत्ता १५८ एक्यूआई सहित तेस्रो नम्बरमा छन् ।

वातावरण विभागको तथ्यांकअनुसार सोमबार बिहान ११ बजे भरतपुर सबैभन्दा प्रदूषित देखिएको छ । भरतपुरमा सो समय एक्यूआई २९२ पुगेको छ । काठमाडौंमा गएको २४ घण्टाको वायुको गुणस्तर एक्यूआई ११० देखि १८७ एक्यूआईसम्म पुगेको विभागको रेकर्ड छ ।

एक्यूआई शून्यदेखि ५० सम्मको (हरियो) रहेको वायु स्वस्थकर हुन्छ । ५१ देखि १०० एक्यूआई सम्मको (पहेँलो) भए होसियार रहनुपर्ने र १०१ देखि १५० एक्यूआईसम्म (खैरो) रहेको वायुले श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ ।

यस्तै, १५१ देखि २०० सम्म एक्यूआई (रातो) पुगेमा सबैका लागि अस्वस्थकर हुने र सोभन्दा माथि जति बढ्दै गयो उति वायु अति हानिकारक बन्दै जान्छ । वायु प्रदूषित भएकोले अत्यावश्यक नपरी घरबाहिर ननिस्कन चिकित्सकहरुले आग्रह गरेका छन् ।