पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, १५ जना घाइते

पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, १५ जना घाइते

रुपन्देही । पाल्पाको तिनाउ गाउँपालिका-६ मस्याममा जीप दुर्घटना भएको छ । मंगलबार डुम्रेबाट मस्याम जाँदै गरेको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको सो वडाका अध्यक्ष टोमबहादुर पुनले बताए ।

प्रहरीले भने पुष्टि गरेको छैन । वडाध्यक्ष पुनले डुम्रे बजारबाट घर फर्कंदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको बताए । उनका अनुसार थप १५ जनालाई अस्पताल पठाइएको छ ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट मस्याम जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयले घटनास्थलमा उद्धारको काम भइरहेको र सबैलाई प्रभासस्थित मेडिकल कलेज ल्याउँदै गरेको जनाएको छ । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका स्थानीयले बताएका छन् । घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ ।