श्रीमतीका नाममा भावुक सन्देश छोडेर आफैँलाई जलाएका मैनालीको मृत्यु

श्रीमतीका नाममा भावुक सन्देश छोडेर आफैँलाई जलाएका मैनालीको मृत्यु

परलोक जाँदै छु भनेर श्रीमतीका नाममा फेसबुकमा भावुक स्टाटस लेखेर बेपत्ता भएका चर्चित रक्तदाता अर्जुन मैनाली मृत भेटिएका छन् । नेपाली समयअनुसार सोमबार बिहान परलोक जाँदै छु भनेर श्रीमती ताराका नाममा फेसबुकमा भावुक स्टाटस लेखेर बेपत्ता भएका मैनाली अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा कारभित्र मृत फेला परेका हुन् । मैनालीको शव जलेको अवस्थामा कारभित्र फेला परेको छ । 

२०६ पटकमा १०२ लिटर रगत दान गरेर विश्वभर चर्चा कमाएका मैनालीका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरीको भने मैनालीले केही समयअघि विवाह गरिदिएका थिए । छोरीको बिहे एक वर्ष ढिलो हुने भएकाले आफू आत्महत्या गर्नबाट यसअघि रोकिएको पनि उनले उल्लेख गरेका छन् । 'छोरीको बिहे सकिन्जेलसम्म म घाइते भई बाँची रहेको थिएँ । मेरो कारणले छोरीको बिहे १ वर्ष ढिलो नहोस् भन्नेमा पनि सचेत थिएँ । बिहे सम्पन्न भयो,' उनले लेखेका छन् । 

काभ्रेपलान्चोकको कोटथुम्काका मैनाली रक्तदाताका रूपमा विश्वभर चर्चित थिए  । मैनालीलाई अमेरिकन रेडक्रसले सन् २००९ मा ‘द गुड नेइबर’ सम्मान दिएको थियो । नेपाली समयअनुसार सोमबार बिहान श्रीमती ताराका नाममा भावुक स्टाटस लेख्दै मैनालीले चार दिनअघि अग्निको बाटोबाट परलोन जान भन्दै सेतो का भाडामा लिएको उल्लेख गरेका छन् । उनले स्टाटसमा लेखेका थिए, 'चार दिनअगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ । कारलाई कतै लुकाएर राख्न भुलेछु  । छोराले सोध्यो, 'यो कारमा को आएको छ ? त्यसपछि यो कार लुकाएँ ।'

मैनालीले त्यही कारभित्र आत्मदाह गरेको देखिएको छ । मनलाई बेसमारी बाँधेर घरबाट निस्किएको स्टाटस मैनालीले लेखेका थिए । 'जब परलोकका लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ । अनि मेरो आँखा रसाउँथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थेँ । फेरि उहीँ हुन्थ्यो,' उनले फेसबुकमा लेखेका थिए, 'आज मनलाई बेसमारी बाँधेर निस्केँ । अब म केही बेरमा परमधाम पुग्नेछु । घरमा तिमी र छोरो मात्रै हुने छौँ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । न आत्तिनु । तिम्रो पीडालाई शक्तिमा बदल्न भगवानले साथ दिउन् ।' 

मैनालीले सालो रमेश र श्रीमती अस्मिताका कारण आफू तनावमा रहेको पनि उल्लेख गरेका थिए । उनले लेखेका छन्, 'आज म परलोक जादै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाई मार्न हतियार चाहिदो रहेनछ, शब्द पनि काफी हुँदोरहेछ । जीवनभरी सँगै बस्ने प्यारी श्रीमतीको आफन्तसँग के झगडा गर्नु भनेर शान्त रहेँ । मेरो आफ्नै स्वास्नीको सामुन्ने तातो न छारोको कुरामा नामर्द, निच, खत्तम परिवारको मानिस, संस्कार नभएको मानिसजस्ता शब्दले प्रहार गर्दा  मेरो श्रीमतीको मनमा के भयो होला ! यसरी उसले आफू असल परिवार र संस्कार भएको उदाहरण पनि दियो । त्यो पनि हामी सुत्न लागि रहेको समयमा रातको १०:१५ बजे तिनिहरूका ९-१० वर्षकी छोरी, १३-१४ वर्षका छोरासहित हाम्रो घरमा आएर गरेको  झगडाको दुरगामी असर दुई-तीन पुस्तासम्म त पुग्ने नै भइहाल्यो । अझ मेरो छोरो सुत्न लागिसकेकोलाई समेत उठाएर झगडा गर्दा उसको मनमा के भयो होला ! त्यो झगडाले छोरोको भोलिपल्टको जाँचमा सहभागी हुन नसकेको तिमीलाई थाहा नै छ ।'

उनले सालो रमेशले यसरी अपराध नै गर्ला जस्तो नलागेको उल्लेख गरेका छन् । मैनालीले फेसबुकमा लेखेका छन्, 'रमेश ग्रिडी र सेल्फिस त छँदै थिए, तर यसरी क्राइम नै गर्ला जस्तो लागेको थिएन । उसले आफ्नो स्वास्नीको गर्मीलाई शीतल बनाउन तिम्रो घरबार बिगार्‍यो, विधुवा बनायो, छोरोलाई टुहुरो बनायो, मेरो आमाको काख रित्यायो । यत्रो ठूलो नोक्सान बनाएर उसले के जित्यो ? के पायो ? अब तिम्रो क्षतिलाई उसले सुनकै घर बनाएर दिए पनि पूर्ति हुन सक्ला त ?'