काठमाडौँ । आइतबार नेपालका धेरै स्थानहरुमा मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शनिबार अपराह्न विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने जानकारी दिएको हो । यससँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात हुने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा वर्षा हुने छ । मधेश र पूर्वी तराईका जिल्लाहरुमा भने खासै असर पर्नेछैन ।
अहिले नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली भित्रिएको छ । पानी र हिउँ पार्ने प्रणाली पश्चिम क्षेत्रमा शनिबार नै भित्रिसकेको छ । त्यो विस्तारै फैलिँदै जाने छ र बदली, वर्षा र हिमपात हुने छ । यसको असर सोमबारसम्म देखिने छ । सोमबार साँझदेखि भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद झाले जानकारी दिए ।
वर्षा र हिमपात ल्याउने मौसम प्रणालीको असरले तापक्रम घटेर चिसो बढ्ने छ । चिसोका कारण स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्ने सम्भावना छ । त्यसैले सतर्कता अपनाउन महाशाखाका मौसमविदले आग्रह गरेका छन् ।
तापक्रम घटेर चिसो हुने क्रम शनिबारदेखि नै सुरु भइसकेको छ । जुम्लामा सबैभन्दा कम माइनस ६, जोमसोममा माइनस ५ र जिरीमा माइनस २ डिग्री सेल्सियस छ ।
शनिबार साँझ पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ३।३ डिग्री सेल्सियस मापन भएको छ । न्यूनतम तापक्रम सबैभन्दा धेरै जनकपुरमा १० डिग्री सेल्सियस छ ।