बाँसबारी छाला जुत्ता प्रकरणमा व्यवसायी अरुण चौधरी पक्राउ

बाँसबारी छाला जुत्ता प्रकरणमा व्यवसायी अरुण चौधरी पक्राउ

काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । ‘बाँसबारी छाला जुत्ता’ उद्योगको जग्गा प्रकरणमा उनलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा चौधरी ग्रुपले नियमविपरीत गएर निजी बनाएको विषयमा छानबिन गर्न उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । उद्योगको नाममा रहेको भनिएको १० रोपनी जग्गा अरुण र उनकी श्रीमतीको नाममा रहेको छ ।

चौधरीलाई काठमाडौंस्थित निवासबाटै पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । “घरमा हाम्रो टोली पुगेपछि उनी लुक्ने प्रयास गरेका थिए,” प्रहरी स्रोतले भन्यो, “अहिले पक्राउ गरिएको छ । अब थप अनुसन्धान हुँदै जानेछ ।”

छाला उद्योग कारखाना २०२२ सालमा स्थापना भएको थियो । चीन सरकारको सहयोगमा स्थापना भएको सो जुत्ता कारखाना निजीकरण गर्ने सरकारको नीतिअरुप २०५० सालमा निजीकरण गरिएको थियो ।

तत्कालीन मन्त्रिपरिषद् बैठकले लगातार घाटामा रहेका र सरकारले चलाउन नसक्ने उद्योग निजीकरण अभियान थालेको थियो ।