चन्द्रागिरिमा कार दुर्घटना हुँदा ४ वर्षीय बालकसहित ४ जनाको घटनास्थलमै मृत्यु

चन्द्रागिरिमा कार दुर्घटना हुँदा ४ वर्षीय बालकसहित ४ जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरा भन्ने ठाउँमा आज दिउँसो भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।

काठमाडौंबाट चित्लाङतर्फ गइरहेको गाडी अनियन्त्रित भई सडकदेखि पाँच सय मिटर तल खसेर दुर्घटना भएको निमित्त प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिए ।

दुर्घटनामा काठमाडौंको मैतिदेवी बस्ने वर्ष ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी र काठमाडौँको लाजिम्पाट बस्ने डा महेशकुमार गौतम र सोही ठाउँमा ४ वर्षीय प्रियान्स गौतमको मृत्यु भएको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

प्रहरीका अनुसार भ्यानमा ६ जना सवारमध्ये चारजनाको घटनास्थलमा नै मृत्यु भएको र दुईजना घाइतेलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको छ । दुर्घटनामा ६ वर्षीया स्मारिका गौतम र उनकी आमा डा सृष्टि तिवारी घाइते छन् ।