सन्दीप लामिछानेलाई ८ वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपूर्ति

सन्दीप लामिछानेलाई ८ वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपूर्ति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ । बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले तीन लाख जरिवाना र दुई लाख क्षतिपूर्तिसहित पीडितलाई पाँच लाख दिन आदेश दिएको हो ।

गौशाला २६ लाई बलात्कार गरेको आरोप लागेका उनलाई दोषी ठहर गर्दै सजाय र जरिवाना निर्धारण गरेको हो । यसअघि पुस १३ गते जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।

यसैबीच क्रिकेटर लामिछानेले बलात्कारको मुद्दाबाट सफाइ नपाएसम्म खेल जीवनबाट आफूलाई अलग राख्ने भएका छन् । उनका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले आफूहरूले सन्दीपलाई मुद्दामा सफाइ नपाउँदासम्म खेल जीवनबाट अलग बस्न सुझाव दिएको बताए ।

“सन्दीप जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन जाने छन्,” अधिवक्ता घिमिरेले भने, “उच्च अदालतबाट मुद्दामा सफाइ नपाउँदासम्म उनले आफूलाई खेल जीवनबाट पनि अलग राख्ने छन् । हामीले मुद्दामा सफाइ नपाउँदासम्म खेल जीवनबाट आफूलाई अलग राख्न ुएडभाइसु गरेका छौँ,” घिमिरेले भने ।

उनले सन्दीप आफैँले खेल जीवनबाट अलग रहेको घोषणा गरेपछि उनले खेल्न पाउँछन् वा पाउँदैनन् भन्ने बहस पनि जरुरी नरहेको बताए ।