श्रीमतीलाई भेट्न काठमाडौँ आएका बम्जन प्रहरीको पन्जामा, दुई तलाबाट हामफाले पनि सकेनन् फुत्किन

श्रीमतीलाई भेट्न काठमाडौँ आएका बम्जन प्रहरीको पन्जामा, दुई तलाबाट हामफाले पनि सकेनन् फुत्किन

काठमाडौं । लामो समयदेखि नेपाल प्रहरीको खोजीमा रहेका लिटल बुद्ध उपनामले चिनिने रामबहादुर बम्जन परिवारलाई भेटन आउँदा पक्राउ परेको खुलेको छ ।

काठमाडौं बुढानिलकण्ठ वडा नं ७ मा परिवारसँग बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । बम्जनका श्रीमती र छोराछोरी बुढानिलकण्ठमा बस्दै आएका थिए । उनीमाथि मानव बेचविखन र व्यक्ति बेपत्ताको आरोप लागेपछि सीआईबीले लामो समयदेखि खोजी गरिरहेको थियो ।

बमजनलाई पक्राउ गर्न प्रहरीको टोली पुग्दा उनी भाग्न खोजेको खुलेको छ। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी का डिएसपी धर्मराज भण्डारीको नेतृत्वको टोली बमजनलाई पक्राउ गर्न खटिएको थियो।  सिआइबी प्रमुख एवं एआइजी किरण बज्राचार्यका अनुसार बमजन केही समयदेखि काठमाडौंमा बस्दै आएको भन्ने सूचना प्राप्त भएको थियो।

उक्त टोलीले अनुसन्धान र निगरानी गरी मंगलबार बुढानिलकण्ठको हात्तीगौडास्थित घरमा रहेको तथ्य प्रहरीले पत्ता लगायो। त्यसपछि बुढानिलकण्ठस्थित रहेको एक घरमा डिएसपी भण्डारीको टोली पुग्यो। 

जसै टोली पुग्यो बमजनले आफूलाई पक्राउ गर्न आएको भेउ पाए। उनी उक्त घरमा आफ्नी श्रीमती र छोराछोरीसँग बस्दै आएका थिए। उनकी श्रीमती लगायतले पनि प्रहरीलाई रोक्न कोसिस गरे। 

बमजन घरको दोस्रो तलामाथि बसिरहेका थिए। प्रहरी आएको थाहा पाएपछि बमजनले बरण्डाबाट हामफालेको सिआइबी स्रोतले जानकारी दियो। 

बम्जनको नातेदारलाई प्राविधिक रुपमा निगरानीमा राखेर प्रहरीले खोजे पनि उनी फेला पर्न सकेका थिएन । उनी कहिले काठमाडौं आएका थिए भन्नेबारे केही खुलाइएको छैन । यद्यपी सीआईबीले सिन्धुलीमा रहेको उनको आश्रममा पनि छापा मारेको थियो ।

उनीविरुद्ध सिन्धुपाल्चोक, मकवानपुर र सर्लाहीलगायत जिल्लामा जाहेरी परेको छ ।