क्यान्सरले बुवा बिते, ऋण तिर्न कोरिया जान्छु भन्दा बालकुमारीमा मारिए सुजन

क्यान्सरले बुवा बिते, ऋण तिर्न कोरिया जान्छु भन्दा बालकुमारीमा मारिए सुजन

काठमाडौँ । उनीहरू कोरिया रोजगारीमा जानका लागि आवेदन दिन चाहन्थे । पानीजहाज निर्माणका लागि परीक्षा दिएकाहरूले पनि त्यो अवसर पाउनुपर्ने युवाहरूको माग थियो । त्यही भिडमा थिए, दैलेखका २३ वर्षीय सुजन राउत । कोरिया भाषा परीक्षाको तयारीका लागि उनी काठमाडौं आएका थिए । युवाहरूले एपीएस शाखा कार्यालय बालकुमारीनजिकै शुक्रबार गरेको आन्दोलनमा उनी पनि मिसिए । दुर्भाग्य, प्रहरीको निर्घात कुटपिटमा उनले ज्यान गुमाउनुपर्‍यो । 

प्रहरीको लाठीचार्जमा छातीमा गम्भीर चोट लागेपछि उनी सडकमै बेहोस भएर लडेका थिए । राउतको शरीरमा निलडाम थिए । साथीहरूले एम्बुलेन्स बोलाएर राउतलाई किस्ट मेडिकल कलेज पुर्‍याए । चिकित्सकले तत्कालै मृत घोषणा गरिदिए । 

आन्दोलनकारी युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी जलाएपछि प्रहरी उत्तेजित भएको थियो । प्रहरीले अन्धाधुन्ध लाठी चार्ज र गोली प्रहार गरेको थियो । त्यसक्रममा डोटीका वीरेन्द्र शाहको पनि प्रहरीको गोली लागेर मृत्यु भएको छ ।

संयोग कस्तो भने दुई युवाको मृत्यु भएको केही घण्टामै उच्च अदालत पाटनले उनीहरूकै पक्षमा आदेश जारी गर्दै पानीजहाजको परीक्षामा सहभागी भएकाले अहिले उत्पादन क्षेत्रका लागि आवेदन दिनबाट वञ्चित भएका सबैलाई परीक्षामा सहभागी गराउन भनेको छ । यो आदेश केही घण्टा छिटो आएको भए बालकुमारीमा न आन्दोलन हुन्थ्यो, न त दुई जना युवाले ज्यान गुमाउनुपर्थ्यो । 

दैलेखबाट कोरिया जाने तयारीका साथ काठमाडौं आएका सुजन शुक्रबार खासमा आन्दोलनमा नभई त्यहाँको अवस्था हेर्न गएको बुझिएको छ । तर उनी प्रहरीको कुटाइबाट मारिए । 

सुजनको मृत्यु हुनुभन्दा एक वर्ष अगाडि उनका बाबु भक्तबहादुर राउतको क्यान्सरका कारण मृत्यु भएको थियो । बाबुको मृत्युपछि छोराले रोजगारीका लागि कोरिया जानुपर्ने अवस्था आयो । तर, सुजन कोरिया जान पाएनन् । विधुवा आमा नन्दालाई जिम्मेवारीको थप भारी बोकाउँदै यो संसारबाट बिदा भए ।