काठमाडौं । राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा लगभग फैसलाको विन्दुमा आइपुगेको छ । जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले आज तेस्रो दिन फैसला सुनवाइ गर्दैछन् । आइतबार पहिलो सुनवाइ भएको थियो भने सोमबार र मङ्गलवार सार्वजनिक बिदाका कारण अदालत बन्द रह्यो । हिजो बुधवार सुनवाइले निरन्तरता पायो । दुई दिनको सुनवाइमा जाहेरीकर्ता गौशाला–२६ का तर्फबाट वकिलहरूले बहस सिध्याएका छन् । वादी पक्षबाट १० जना वकिलहरूले बहस गरेका थिए ।
प्रतिवादी सन्दीपका तर्फबाट मुरारी सापकोटाले हिजो बहस गरे । आज थप ६ जना अधिवक्ताहरूले बहस गर्नेछन् । सन्दीपको पक्षबाट बहस गर्न पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ सहितको बलियो टीम छ । वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्ण सापकोटा, सरोज घिमिरे, सविता भण्डारी लगायतले आज बहस गर्ने छन् । सन्दीपका कानून व्यवसायीहरूको टीमले आजै फैसला आवस् भन्ने हिसाबले छिटो बहस सिध्याउने तयारी गरेका छन् । दिउँसो ३ बजेसम्ममा बहस सिध्याउने उनीहरूको योजना छ । त्यसपछि फेरि वादीपक्षका वकिलहरूले जवाफी बहस गर्नेछन् । र, न्यायाधीशले फैसला सुनाउनेछन् । फैसला आजै हुन्छ वा हुँदैन भन्न सकिने अवस्था छैन । यद्यपि, सम्भावना छ ।
यता जिल्ला अदालतमा आफ्नो भाग्य फैसला भइरहँदा सन्दीप भने काठमाडौंमा छैनन् । उनी प्रो क्लब च्याम्पियनसीप टी–२० क्रिकेट खेल्न वीरगञ्ज पुगेका हुन् । यो प्रतियोगितामा उनले पर्सा ११ को कप्तानी गरिरहेका छन् । आजै उनको टिमको म्याच पनि छ । अदालतमा अन्तिम रस्साकस्सी भइरहँदा उनी मैदानमा प्रतिस्पर्धीसँग भिडिरहेका हुनेछन् ।
यता, जाहेरीकर्ता गौशाला २६ भने सम्भवतः अदालतमै हुनेछिन् । उनी हिजो बहस सुन्न जिल्ला अदालत उपस्थित भएकी थिइन् ।