राष्ट्रका नाममा सम्बोधन गर्दै के भने प्रधानमन्त्री प्रचण्डले ?

राष्ट्रका नाममा सम्बोधन गर्दै के भने प्रधानमन्त्री प्रचण्डले ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक हप्ताभित्र प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने बताएका छन् । प्रधानमन्त्री बनेको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयको संचनात्मक परिवर्तन राष्ट्रका अन्य निकायका लागि पनि संकेत र सन्देश हुने बताए ।

सम्बोधनका क्रममा प्रचण्डले कार्यक्षमता कमजोर हुने मन्त्रीहरू हटाउने स्पष्ट संकेत दिएका छन् । एक वर्षपछि मन्त्रीहरु बदल्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई सम्बोधनमा जोड दिँदै कार्यक्षमताको कुरा उठाएका हुन् ।

'म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्‍न चाहन्छु, हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन । हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ । कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ' प्रधानमन्त्री दाहालले भने ।

प्रचण्डले भारत, बंगलादेश र चीनसमेत हाम्रो विद्युत् व्यापारका साझेदार बन्ने परिस्थिति तयार भएकाले सरकार गेमचेन्जर ठुला जलविद्युत् आयोजनाहरूमा लागेको बताएका हुन् । 

बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि पेट्रोलियम पदार्थमा लगाइँदै आएको पूर्वाधार करसमेत सोही आयोजनालाई उपलब्ध गराइने र स्रोतको अभाव हुन नदिने स्पष्ट गर्दै उनले तीन वर्षभित्र सम्पन्न गर्ने गरी नेपाल विद्युत् प्राधिकरणबाट १०,८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको थप अध्ययन सुरु भएको जानकारी दिए । 

त्यस्तै १,९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको अध्ययन सम्पन्न भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले हाल कार्यान्वयनमा रहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनालाई आफूले सिधै पनि सहजीकरण गरिरहेको  र १,०६३ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजनालाई लगानी जुटाउने कार्य अन्तिम चरणमा पुगेको बताए । 

आउँदो दुईदेखि तीन महिनाभित्र टेस्टिङ कमिसनिङ भइरहेका थप आयोजनाहरूबाट करिब ५६४ मेगावाट उत्पादन थप हुने जानकारी दिँदै उहाँले हालसम्म ९,१६४ मेगावाटका जलविद्युत् आयोजनाको निजी क्षेत्रसँग विद्युत् खरिद सम्झौता सम्पन्न भएको र जसमध्ये यस वर्ष मात्र करिब २२ सय मेगावाट बराबरको विद्युत् खरिद सम्झौता सम्पन्न भएको स्पष्ट गरे । 

‘सुनकोशी मरिन डाइभर्सन तथा कमला डाइभर्सन सिँचाइ आयोजनाहरूलाई समेत थप पानी उपलब्ध गराउन सक्ने ६७८ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना पनि सरकारको प्राथमिकतामा छ’– प्रधानमन्त्री प्रचण्डले भने– ‘राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरू अब एआईजडित ड्रोन प्रविधिबाट नियमित अनुगमन गर्ने प्रणाली जडान गरिँदैछ। प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट यस्ता आयोजनाहरूको नियमित अनुगमन गर्न मैले सुरु गरिसकेको छु ।’