१४ केजी सुन ल्याएको गिरोहले १३८ किलो अबैध सुन भित्र्याएको समितिको निष्कर्ष

१४ केजी सुन ल्याएको गिरोहले १३८ किलो अबैध सुन भित्र्याएको समितिको निष्कर्ष

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट  पक्राउ परेको १४ केजी सुनमाथिको छानबिन समितिले सोही समूहले १ सय ३८ केजी सुन नेपाल भित्र्याएको निष्कर्ष निकालेको छ। केही साताअघि भन्सार कार्यालयबाट १४ केजी सुनसहित गोरखाका चन्द्रबहादुर घले पक्राउ परेपछि छानबिन समिति गठन भएको थियो।

समितिले आज प्रतिवेदन सार्वजनिक गर्दै नेपाल भित्रिएको १३८ केजीमध्ये १४ केजी मात्रै बरामद भएको बताएको छ। पक्राउ परेका घलेले दुबईमा बस्ने गरेका भारतीय नागरिकसँग मिलेर सुन तस्करी गर्ने गरेका समितिले बताएको छ।

मीनबहादुर स्वयं, चन्द्र र कृष्णकुमार श्रेष्ठले भरिया बनेर सुन ल्याउने गरेको पाइएको छ। समितिले नेपाल आयल निगम, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको सिनामंगल चोकस्थित गेटमा वाक थ्रो मेटल डिटेक्टर तत्काल राख्नुपर्ने सुझाव दिएको छ।

अध्यागमन कार्यालयले पटक पटक दुबई, सिंगापुर, हङ्कङ, थाइल्यान्ड लगायतका देशमा आवागमन गरिरहेका यात्रुहरूको सूचना भन्सार तथा प्रहरीलाई दिने लिने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ।

यात्रुहरूले ती देशका भन्सारमा घोषणा गरेको विवरण अग्रिम रूपमा प्राप्त गर्न आवश्यक व्यवस्था मिलाउनुपर्ने पनि सुझाव दिएको छ।