१४ किलो सुन प्रकरण : एक क्विन्टल बढी सुन तस्करी गरेको घलेको स्वीकार

१४ किलो सुन प्रकरण : एक क्विन्टल बढी सुन तस्करी गरेको घलेको स्वीकार

काठमाडौं । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित पक्राउ परेका गोरखाका चन्द्रकुमार घले र मीनबहादुर घलेको समूहले एक क्वीन्टलभन्दा बढी सुन तस्करी गरेको खुलेको छ ।  उनले गत मंसिर २१ गते राति फ्लाई दुवईबाट आएका चन्द्र घलेले ज्याकेटभित्र लुकाएर १४ किलो सुन ल्याएका थिए । उनी विमानबाट ओर्लिनासाथ पक्राउ परेका थिए ।

त्यही दिन चन्द्रकुमारले सुन मीनबहादुर घलेको भएको र आफू भरिया मात्रै रहेको बयान प्रहरी र भन्सार कार्यालयका कर्मचारीलाई दिए । त्यही बयानका आधारमा मीनबहादुर समेत पक्राउ परेका थिए ।

उक्त तस्करी प्रकरणबारे अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले भन्सार प्रमुख उपसचिव मणिराम पौडेलको संयोजकत्वमा विमानस्थलका डीएसपी सूर्य सुवेदीसहितको ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिको अनुन्धानका क्रममा चन्द्र घले समूहले एक क्वीन्टल भन्दा बढी सुन तस्करी गरेको खुलाएको हो । सुन तस्करीमा विमानस्थल सरसफाई कर्मचारीदेखि उड्डयन प्राधिकरण ९क्यान० का कर्मचारीको समेत मिलोमतो रहेको छानबिनका क्रममा खुलेको छ । त्यसमध्ये ८ जना सरसफाइ कर्मचारी पक्राउ परेका छन् । 

त्यस्तै दुवईबाट सुन तस्करी गर्ने अर्का आरोपी स्याङ्जाका कृष्णकुमार श्रेष्ठलाई समेत पक्राउ गरिएको छ । दुबईबाट श्रेष्ठ र चन्द्र घलेले सुन विमानस्थलसम्म ल्याउने गरेको खुलेको छानबिन समितिका संयोजक उपसचिव मणिराम पौडेलले जानकारी दिए ।

उनका अनुसार, दुबईबाट तस्करीको सुन बोकेर त्रिभुवन विमानस्थलसम्म ल्याउने प्रमुख पात्र कृष्ण श्रेष्ठ र चन्द्र घले हुन् । त्यहाँबाट विमानस्थलकै सरसफाई कर्मचारीकै सहयोगमा सुन बाहिर ल्याउने गरेको देखिएको छ ।

चन्द्र घले र कृष्ण श्रेष्ठले पटक–पटक गरी क्वीन्टल भन्दा बढी सुन तस्करी गरेको समितिको दाबी छ । उनीहरुले बयानको क्रममा पटक पटक गरी क्वीन्टल बढी सुन ल्याएको स्वीकारेका हुन् 
 ।समितिको अनुसन्धानका क्रममा श्रेष्ठ र घलेले प्रत्येक पटक दुबईबाट १४ किलो नै ल्याउने गरेको आशंका गरेको छ । समितिको अनुसन्धानका क्रममा चन्द्र भन्दा कृष्ण श्रेष्ठले बढी सुन तस्करी गरेको देखिएको छ ।