भिजिट भिसामा पठाउन दैनिक एक करोड घुस लेनदेन गर्थे अध्यागमनका कर्मचारी

भिजिट भिसामा पठाउन दैनिक एक करोड घुस लेनदेन गर्थे अध्यागमनका कर्मचारी

काठमाडौं । भिजिट भिसामा हुने मानवतस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको संस्थागत संलग्नता देखिएको छ । पक्राउ परेका एक अध्यागमन अधिकृत र एजेन्टहरूमाथिको अनुसन्धानले दैनिक करिब एक करोड रुपैयाँ घुस लेनदेन हुने गरेको उजागर गरेको छ । 

प्रहरीले नक्कली कागजपत्र बनाउने र भिजिट भिसामा विदेश पठाउने ३४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ, जसमा अध्यागमन अधिकृत नरवीर खड्कासमेत छन् । एजेन्टसँग दुई लाख रुपैयाँ लिँदै गर्दा प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको थियो । प्रहरीको सोधपुछमा उनले अध्यागमन कार्यालयभित्र संस्थागत रूपमै पैसा लेनदेन हुने गरेको स्वीकार गरेका हुन् । अध्यागमनका अन्य कर्मचारीविरुद्ध प्रहरीले प्रमाण संकलन गरिरहेको छ । 

प्रहरीका अनुसार दैनिक सेटिङमा दुई सयदेखि तीन सयजना भिजिट भिसामा रोजगारीका लागि विदेश जाने गर्दथे । उनीहरूसँग ३० हजारदेखि ५० हजार रुपैयाँ एजेन्टमार्फत अध्यागमनका कर्मचारीले घुस लिन्थे । यसअनुसार औसतमा दैनिक करोड रुपैयाँ घुस लेनदेन हुने गरेको प्रहरी अधिकारी बताउँछन् । पक्राउ परेका एजेन्ट मनोज लामाले मात्र पछिल्लो तीन महिनामा अध्यागमन कर्मचारीलाई दुई करोड रुपैयाँ बुझाइसकेको बताएका छन् । उनीजस्ता दर्जनौँ एजेन्ट अध्यागमनमा सेटिङ मिलाउँथे । खासगरी कुवेत र संयुक्त अरब इमिरेट्समा भिजिट भिसामा पठाउन यस्तो सेटिङ हुने गरेको थियो । त्यसरी गएकाहरू कतिपय बेचिएका छन् भने केही बिचल्लीमा परेर फर्किएका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा मानवतस्करी गर्ने चारवटा समूहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा भिजिट भिसामा हुने मानवतस्करीमा अध्यागमनका कर्मचारीको पनि मिलेमतो देखिएको र यसमा विस्तृत अनुसन्धान भइरहेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले बताए । उनले भने, ‘प्रमाणले भेटेसम्म कसैलाई छाड्दैनौँ ।’ अध्यागमनभित्र संस्थागत रूपमै भिजिट भिसाको सेटिङ हुने र लेनदेन हुने गरेको पर्याप्त आधार भेटिएको प्रहरी स्रोतको दाबी छ । 

अध्यागमनमा तीन सिफ्टमा ड्युटी खटाइएको हुन्छ । कार्यालय प्रमुखसहितको टिमले यसको निर्णय गर्छ । कतिपय अवस्थामा यसरी ड्युटी खटाउने वेलामा मिलेमतो हुने गरेको स्रोत बताउँछ । हरेक दिन ड्युटी फरक परे पनि सेटिङ निरन्तर चल्ने भएकाले यसमा संस्थागत रूपमै मानवतस्करी हुने गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् ।