१४ किलो सुन प्रकरणमा पक्राउ परेका मीनबहादुर घलेले दिए यस्तो बयान

१४ किलो सुन प्रकरणमा पक्राउ परेका मीनबहादुर घलेले दिए यस्तो बयान

काठमाडौं । गोरखा बारपाकका चन्द्र घले र मीनबहादुर घले पाँच दिनदेखि त्रिभुवन विमानस्थल भन्सार कार्यालयको थुनामा छन् । दुवईबाट बिहीबार राति १४ किलो अवैध सुनसहित आएका चन्द्र घलेलाई विमानस्थल ओर्लिनासाथ प्रहरी र भन्सार विभागका कर्मचारीले नियन्त्रणमा लिएको थियो ।

मीनबहादुरलाइ भने त्यही रात धुम्बाराहीस्थित उनकै घरबाट पक्राउ गरिएको हो । उनीहरुमाथि भन्सार कार्यालयले थप अनुसन्धान जारी राखेको छ । चन्द्रले उक्त सुन मीनबहादुरको भएको र आफू भरियामात्रै रहेको प्रारम्भिक बयान दिए । 

त्यसपछि मीनबहादुरलाई पक्राउ गरिएको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुनचन्द ठकुरीले जानकारी दिए । चन्द्रले प्रत्येक पटक दुबईबाट सुन ल्याएवापत ६० हजार रुपैयाँ पाउने गरेको बयान दिएका छन् । मीनबहादुर घलेले पनि सुनको असली मालिक आफू नरहेको र भारतीय व्यापारी रहेको बताएका छन् । 

उनी सुरुमा सुनबारे आफूलाई कुनै जानकारी दाबी गर्दै थिए ।  पछि मात्रै घलेले सुन आफ्नो नभएको र भारतीय व्यापारीको भएको बयान दिएका छन् । अनुसन्धानमा संलग्न एक अधिकारीले  भने, “मीनबहादुर घलेले सुरुमा सुनबारे आफूलाई कुनै जानकारी नभएको बयान दिएका थिए । तर, पछि सुन भारतीय व्यापारीको रहेको बयान दिएका छन् ।”

घलेले आफूले सुन तस्करी व्यवस्थापन गरेवापत एक लाख रुपयाँ पाउने गरेको पनि बताएका छन् ।

उनले बयानका क्रममा भनेका छन्, “म म्यानपार व्यवसायी हुँ । नेपालमा कोभिड–१९ फैलिएपछि व्यवसाय ठप्प भयो । म घुमघामको सिलसिलामा दुवई पुगेको थिए । त्यहीबेला मेरो भारतीय व्यापारीसँग भेट भएको हो । त्यसपछि सुन ल्याउन थालेका हौँ ।”

मीनबहादुरले कति किलो सुन भित्र्याए भन्नेबारे भने मुख खोलेका छैनन् । भन्सार विभागले उनीहरुले सयौँ किलो सुन तस्करी गरेको आशंका गरेको छ ।