काठमाडौं । वीरगञ्ज महानगरपालिकामा मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमका समर्थकबीच महानगर कार्यालयमै हानाहान भएको छ । प्रमुख प्रशासकीय अधिकृत रहेको कोठा खाली भएपछि महानगरले मेयर सिंहको निर्देशनमा कर्मचारी पञ्जीकरण शाखा सार्न खोज्दा उपमेयर आलमको सचिवालयले रोकेको थियो ।
‘लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत बसिरहनु भएको कोठा अहिले खाली भएको छ । उहाँको लागि अर्को कोठा बनेपछि त्यो खाली कोठमा पञ्जीकरण शाखा राख्ने तयारी थियो । तर उपप्रमुखज्यूले आफ्नो कार्यकक्ष बनाउने भनेपछि विवाद सुरु भएको थियो,’ महानगरका एक अधिकृतले भने ।
‘पहिले प्रमुखको सचिवालय र कर्मचारी विरुद्ध उपप्रमुखको सचिवालयबाट नसार्न दबाब आइरहेको थियो । तर उपप्रमुख र प्रमुखका समर्थकहरु सयौंको संख्यामा महानगर प्रवेश गरेपछि कार्यालयमा हानाहान भएको हो,’ ती अधिकृत कर्मचारीले भने ।
कार्यालयमा दिउँसो तनाव भएपछि दिनभर सेवा नै अवरुद्ध भएको महानगरका कर्मचारीले बताएका छन् । ‘प्रमुख र उपप्रमुख नै विवाद मिलाउने भन्दा इगो देखाउन थाले, पुलिस समयमै नआएको भए ठूलो दुर्घटना हुने थियो । ५(७ जना जुधेपछि प्रहरीले बल प्रयोग गरेको थियो,’ महानगरका ती कर्मचारीले भने । अहिले मेयर सिंह कार्यालयबाट निस्केका छन् भने उपमेयर आलम कार्यकक्षमै रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले डीएसपीको कमाण्डमा ५० भन्दा बढी प्रहरी परिचालित गरेको छ ।
प्रमुख सिंहको सचिवालयले भने उपप्रमुख आलमका समर्थकले कार्यालयमै दादागिरी देखाउन थालेपछि प्रमुखका समर्थक आउँदा विवाद भएको दाबी गरेको छ । सचिवालय सदस्य नवराज फुयाँलका अनुसार वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले पञ्जीकरण शाखा व्यवस्थित गर्न माग गरिरहेकाले खाली भएको कोठामा शाखाको लागि सामान राख्न खोज्दा उपप्रमुखको सचिवालयबाट अनुचित दबाब आएको बताए ।