प्रवासी नेपालीको भोट रवि लामिछानेको दौडधूप

प्रवासी नेपालीको भोट रवि लामिछानेको दौडधूप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विदेश भ्रमणमा व्यस्त छन् । उनले विदेशमा रहेका शुभचिन्तक र समर्थक भेट्न भन्दै मलेसिया, कतार र बेलायतको भ्रमणमा छन् ।

लामिछाने मंसिर १६ गते शनिबार राति १० बजे मलेसिया उडेका थिए । मलेसियाबाट उनी २० गते फर्किएर मंसिर २१  गते कतार गएका छन् ।  कतारबाट २४ गते बेलायत जाने कार्यक्रम रहेको रास्वपाले जनाएको छ । रवि मंसिर २८ गते नेपाल फर्कने छन् ।

मलेसियाको कार्यक्रममा लामिछानेसँग रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी,  सहकोषाध्यक्ष दीपक बोहोरा र सभापति लामिछानेकी श्रीमती निकिता पौडेल सहभागी थिए । कतारको भ्रमणमा लामिछाने, सहकोषाध्यक्ष दीपक बोहोरा र श्रीमती पौडेल सहभागी थिए ।

रास्वपाका उपसभापति डोलप्रसाद अर्यालका अनुसार मलेसियाको कार्यक्रममा रविले विदेशमा रहेका नेपालीहरूसँग अन्तरक्रिया गरेका थिए । अर्यालले भने, ‘विदेशमा रहेका नेपालीहरूले सभापतिज्यू भेट्न आउनुपर्छ भन्ने माग गरेका थिए ।’


त्यहाँस्थित नेपाली राजदूत डिल्लीराज पौडेलसँग पनि भेटवार्ता गरेका थिए । उनीहरूबीच मलेसियामा रहेका नेपाली कामदारले भोग्दै आएका समस्या र दूतावासले दिने सेवाको विषयमा छलफल भएको स्रोतले बतायो  । राजदूत पौडेलले सीमित स्रोत साधनका कारण चाहेजस्तो सेवा दिन कठिन भएको बताएका थिए ।

त्यसो त ०७९ को आमनिर्वाचन जितेपछि नै रविको बाहिर जाने तयारी थियो । तर, नागरिकताका विषयमा उत्पन्न विवादका कारण उनको विदेश भ्रमण रद्द भएको थियो । त्यसपछि चितवन २ मा भएको उपनिर्वाचनमा भाग लिनुपर्ने भएकाले उनी जान भ्याएका थिएनन् ।

विदेश भ्रमणको लक्ष्य सम्बन्धित देशमा भएका नेपालीको समस्या बुझ्ने र सरकारसम्म  पुर्‍याउने रहेको रास्वपा नेताहरू बताउँछन् ।

रविले मलेसिया पुगेर फेसबुक मार्फत विदेश भ्रमणबारे जानकारी दिँदै भनेका थिए, ‘सबैसँग भेट हुन पाएन, तर यहाँहरू सबैको मुद्दा बोकेर म हिँडेको छु । हिजो पनि तपाईँहरूको माया थियो, आज पनि उत्तिकै छ । यो तपाईंको विश्वास हो । जहाँ तपाईंको समस्या छ म त्यहाँ जहिले पनि हुन्छु ।’


विदेशमा रहेका नेपालीले भोट दिन पाउने कानुन बनाउनका लागि रास्वपाले निर्वाचन आयोगलाई दबाब दिइरहेको छ । रास्वपाले आफ्नो घोषणापत्रमा पनि यो विषय उठाएको छ । सभापति लामिछानेले २०८४ का लागि यो विषयलाई आफ्नो मिसन बनाएका छन् । यसको लागि प्रवासको मत तन्न उनले दौडधूप बढाएको बुझ्न मुस्किल छैन ।