रूसी सेनामा नेपाली पठाउने गिरोहका १२ जना पक्राउ

रूसी सेनामा नेपाली पठाउने गिरोहका १२ जना पक्राउ

काठमाडौं ।  प्रहरीले नेपालीलाई अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन रुस पठाउने ठूलो गिरोहलाई नियन्त्रणमा लिएको छ ।  काठमाडौंको विभिन्न ठाउँबाट १२ जनालाई पक्राउ गरिएको जानकारी प्रहरी उच्च स्रोतले दियो । 

पक्राउ परेकामध्ये हरि बिक र सुजाता दाहाल मुख्य एजेन्ट भएको खुलेको छ । उनीहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नेपालीलाई भारतको दिल्ली हुँदै रुस पठाउने गरेको पाइएको छ । नेपालस्थित भारतीय दुतावासबाट ‘नो अब्जेक्सन लेटर’ बनाएर दिल्लीबाट रुस पठाउने गरेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको दाबी छ ।

नेपाल प्रहरीले भारतीय दुतावाससँग समेत यस विषयमा छलफल गरेको छ । पछिल्लो समय त्रिभुवन विमानस्थलबाट ‘भिजिट भिसा’मा जाने नेपालीमाथि कडाई गर्न थालेपछि भारत हुँदै मुलुक पठाउने गरेको खुलेको हो । 

मानव तस्कर समूहले रुस पठाउन प्रतिव्यक्ति १२ लाख रुपैयाँ असुल गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा भर्ती हुन ५३ नेपाली दिल्ली हुँदै रुस गएको सूचना आफूसँग रहेको बताएका थिए ।