आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि सशक्त आन्दोलनमा उत्रिने शिक्षकहरूको चेतावनी

आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि सशक्त आन्दोलनमा उत्रिने शिक्षकहरूको चेतावनी

काठमाडौं । आन्दोलनरत शिक्षकहरूले विद्यालय बन्दसहित आन्दोलनको कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् । बुधबार दिउँसो आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गरेको भन्दै थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको नेतृत्वमा बाल विकास, पेन्सन वञ्चित, साबिक उच्च मावि, विद्यालय कर्मचारी लगायतका शिक्षक कर्मचारी आन्दोलनमा छन्। आन्दोलनकै क्रममा आज प्रहरीले लाठ्ठी चार्ज गरेको थियो । सोही क्रममा केही शिक्षक घाइते भएका छन् । 

राज्यले समस्या समाधान गर्नुको साटो प्रहरी लगाएर आन्दोलन निस्तेज पार्ने काम गरिरहेको उनीहरूको आरोप छ । समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईँले जारी गरेको विज्ञप्तिमा असहज परिस्थिति सिर्जना गरिए देशभरका विद्यालय बन्द गरेर आक्रामक ढंगबाट आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिए । 

त्यस्तै पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले समेत आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । समितिले एक सर्कुलर जारी गर्दै भोलिबाट टाउकोमा कालोपट्टी बाधेर आन्दोलनमा सरिक हुन भनेको छ । बाल विकास शिक्षकहरूले समेत आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो। आन्दोलनमाथि राज्यले दमन गर्ने नीति ल्याएको भन्दै देशभरका विद्यालय बन्द गरेर आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको हो । 

आज दिउँसो माइतीघर मण्डलादेखि बानेश्वर जाने क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । अत्यधिक संख्यामा शिक्षक कर्मचारी उपस्थित भएपछि ३ वटा लेन हुँदै जाने क्रममा प्रहरीले लाठीचार्ज गरेको उनीहरूको आरोप छ ।