शिक्षक आन्दोलनको दोस्रो दिन, माइतीघर–वानेश्वर क्षेत्र अस्तव्यस्त

शिक्षक आन्दोलनको दोस्रो दिन, माइतीघर–वानेश्वर क्षेत्र अस्तव्यस्त

काठमाडौं । शिक्षा विधेयक प्रति असन्टुष्टी जनाईरहेका शिक्षकहरूको दोस्रो दिनको आन्दोलन सुरू भएको छ । माइतीघर–वानेश्वर सडक ढपक्कै ढाकेर उनीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिएका हुन् । काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक पनि विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका छन् ।

शिक्षकहरूको विरोध प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनेको छ । आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक नेतृत्वसँगको वार्ता निष्कर्षविहीन टुंगियो । शिक्षक महासंघले विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन् । संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् । विभिन्न जिल्लाबाट शिक्षक–शिक्षिका आन्दोलनका लागि काठमाडौं आएका छन् । सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा यो आन्दोलन सुरू भएको हो । महासंघले देशभरका सबै सामुदायिक विद्यालयहरु बन्द गराएको छ ।

शिक्षकहरूको आन्दोलनको कारण देशभरका झण्डै ३० हजार विद्यालय बन्द हुनुका साथै ७० लाख जति विद्यार्थी पढ्नबाट वञ्चित हुनेछन् । विधेयकमा विभिन्न १८ बुँदे असहमति राख्दै शिक्षकहरु आन्दोलित भएका हुन् । राहत, करार, बालविकास, स्थायीलगायत शिक्षक कर्मचारी आन्दोलन सहभागी छन् । सरुवा, बढुवा, दरबन्दी लगायतका मुद्दा उठाएका उनीहरुले स्थानीय तह मातहत नबस्ने बताएका छन् ।