काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानहरुमा हावा–हुरीको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।