आज चार प्रदेशमा भारी वर्षाको सम्भावना, यी नदीमा आउनेछ बाढी

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना, यी नदीमा आउनेछ बाढी

काठमाडौं । देशका केही नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो । 

संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा भएर बहने नदी तथा खोलामा बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

गोरखा, लमजुङ, कास्की, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, जुम्ला, मुगु र आसपास भएर बहने नदी र खोलामा पनि बहाव सामान्य बढ्नसक्ने पूर्वानुमान रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

यसैबीच, आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सामान्य घटबढ हुनेछ ।