काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी सविना काफ्ले चढेको सरकारी नम्बर प्लेटको कार शनिबार साँझ ८ बजेर ४९ मिनेट जाँदा ललितपुरको बालकुमारी क्षेत्रबाट कोटेश्वरमा आइपुगेको थियो । त्यहाँ ट्राफिक चेकिङ पनि चलिरहेको थियो भने सवारी साधनहरू लाइनमा रहेका कारण उक्त गाडी केही पछाडि थियो । जब उक्त गाडी ट्राफिक चेकिङ भइरहेको स्थानमा आइपुग्यो, त्यसपछि ट्राफिक प्रहरीले सेतो नम्बर प्लेट देखेपछि गाडीलाई रोकेर कागजात र शनिबार चलाउनका लागि स्थानीय प्रशासनबाट लिइएको पास माग गरे ।
तर चालकले शनिबार उक्त सवारीसाधन चलाए पनि पास नबनाएको र उक्त गाडी काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको भएको बताए । तर गाडीमा बालेन शाह नदेखेपछि ट्राफिक प्रहरीले उहाँ को हो भनी प्रश्न गरेपछि चालकले उहाँ बालेनकी पत्नी भएको र अस्पतालबाट फर्किँदै गरेको जवाफ दिएका थिए ।
त्यसलगत्तै ट्राफिक प्रहरीले चालकलाई सम्झाएर अब शनिबार सरकारी सवारीसाधन नचलाउन र चलाउन परे अनिवार्यरुपमा पास लिएर मात्रै चलाउनका लागि सुझाव दिँदै सवारीसाधनलाई छाडिदियो । उक्त सवारीसाधन शनिबार साँझ ८ बजेर ५१ मिनेट २ सेकेन्ड जाँदा त्यहाँबाट गएको देखिन्छ । अर्थात्, ट्राफिक लाइट, कोटेश्वर चोकको सवारी जाम र ट्राफिक चेकिङ गरी मात्रै २ मिनेट २ सेकेन्ड उक्त गाडी रोकिएको छ । ट्राफिक चेकिङका लागि उक्त सवारीसाधन करिब ४० सेकेन्ड रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र प्रसाद भट्टका अनुसार कोटेश्वरमा नियमित चेकजाँचका क्रममा उक्त सवारीसाधन पनि चेकजाँच गरिएको हो । सेतो नम्बर प्लेटको सरकारी गाडी भएको र शनिबार चलेको हुनाले ट्राफिक प्रहरीले सोधपुछ गरेको उनले बताए ।
प्रवक्ता भट्टका अनुसार बिदाको दिन भएकाले पास छ कि छैन भनेर सोधेको र चालकको लाइसेन्स हेरेर पास बोकेर हिँड्नु भनी सम्झाएर पठाइएको हो । त्यसबाहेक अरू केही भएकै थिएन ।
तर कोटेश्वर चोकमा ट्राफिक प्रहरीले बिदाको दिन चलाउने पास मागी २ मिनेट २ सेकेन्ड गाडी रोकिँदा मेयर बालेन शाहले अबदेखि फेरि महानगरको गाडी रोकेमा सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका थिए ।