बालेनको विभेद, ‘अखण्ड भारत’ नक्सा सार्वजनिकलगत्तै भारत पुगे, नक्साकै कारण चीन भ्रमण स्थगित

बालेनको विभेद, ‘अखण्ड भारत’ नक्सा सार्वजनिकलगत्तै भारत पुगे, नक्साकै कारण चीन भ्रमण स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले बिहीबार एउटा अप्रत्याशित घोषणा गर्दैआफ्नो पाँचदिने चीन भ्रमण स्थगित गरे ।  बिहीबार बेलुकी उनको चीन जाने फ्लाइट थियो ।  तर चीनतर्फ प्रस्थान गर्नु केही घण्टाअघि मात्र उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् आफू चीन भ्रमणमा नजाने घोषणा गरेका थिए । 

चीनले सोमबार जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारत भित्र देखाएपछि त्यसको विरोध स्वरुप चीन भ्रमण रद्द गरेको दाबी उनको छ ।  

“नेपाली भूभागलाई  चीनले  नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो  संवेदनशीलतामाथि चालेको गलत कदम मानेका  छौं,” बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “त्यसैले आज मेरो, चीनको निमन्त्रणामा   हुँदै गरेको पाँचदिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।” 

नेपालले २०७७ जेठ ७ गते लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो ।  केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले ‘चुच्चे’ नक्साको ठाउँमा पहिलेको ‘बुच्चे’ नक्सालाई नै कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेकोमा आफ्नो आपत्ति रहेको बालेनले बताएका छन् । 

ठिक तीन महिनाअघि अर्थात् २०८० जेठ १४ गते भारतमा नयाँ संसद भवनको उद्घाटन गरिएको थियो ।  नयाँ संसद् भवनको भित्तामा ‘अखण्ड भारत’ को नक्सा राखिएको थियो ।  अखण्ड भारतको नक्सामा नेपाली भूमि लुम्बिनी, कपिलवस्तुलाई पनि समेटिएको थियो । 

‘अखण्ड भारत’को नक्सा बाहिर सार्वजनिक भएलगत्तै नेपाल, पाकिस्तान र बंगलादेशमा त्यसको विरोध भयो । ठूलो विरोध भएपछि भारतले उक्त नक्साले वर्तमान अवस्था नदेखाउने र प्राचिन समयमा भारतको प्रभाव क्षेत्र मात्र देखाउने भनी स्पष्ट पारेको थियो ।

जब ‘अखण्ड भारत’ नक्साको विरोध नेपालमा व्यापक भइरहेको थियो ।  त्यति नै बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन उपमेयर सुनिता डंगोललाई कार्यवाहकको जिम्मवारी दिई सुटुक्क भारत भ्रमणमा निस्केका थिए । 

उनले जेठ १८ गतेदेखि आफू फर्केर नआउन्जेलसम्मको लागि कार्यवाहकको जिम्मेवारी डंगोललाई सुम्पेका थिए । उनले कार्यवाहकको जिम्मेवारी दिएको पत्रमा कामको सिलसिलामा काठमाडौं बाहिर जानु परेको बताएका थिए । 

बालेन त्यतिबेला सुटुक्क भारत गएका थिए जतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि त्यतिबेला भारत नै रहेका थिए ।  चीनले नेपाली भूमि भारतमा राखी नक्सा जारी गरेको भन्दै चीन भ्रमणमा नजाने घोषणा गरेका बालेनले भारतले नेपाली भूमि समावेश गरी अखण्ड भारत नक्सा जारी गर्दा सुटुक्क भारत भ्रमणमा गएका थिए । 

भारत भ्रमणमा रहँदा बालेनले काठमाडौं महानगरपालिकास्थित आफ्नो कार्यकक्षमा ‘अखण्ड नेपाल’को नक्सा राख्न लगाएका थिए ।  अखण्ड नेपालको नक्सामा सन् १८१६ मा बेलायतसँग सुगौली सन्धि हुनुअघिको नेपाली भूभागलाई समेटिएको छ । 

त्यतिबेला ‘अखण्ड नेपाल’ को नक्सा आफ्नो कार्यालयमा राखेर भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई उनले अप्ठेरोमा पारिदिएको परराष्ट्र मन्त्रालयका अधिकारी बताउँछन् । अहिले चीन भ्रमणको तयारी गरिरहेका प्रधानमन्त्री प्रचण्डलाई आफ्नो भ्रमण स्थगित गरेर बालेनले पुनः अप्ठेरो स्थिति बनाइदिएका छन् ।