नक्कली भुटानी शरणार्थी प्रकरण : यी तीन अभियुक्तको फेरि बयान लिइने

नक्कली भुटानी शरणार्थी प्रकरण : यी तीन अभियुक्तको फेरि बयान लिइने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने मुख्य योजनाकार सानु भण्डारी, केशव दुलाल र रामशरण केसीविरूद्ध दोस्रो चरणको अनुसन्धान सुरू भएको छ।

साउनको अन्तिम साता भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितले उनीहरूविरूद्ध जाहेरी दिएका थिए। भण्डारी, दुलाल र केसीले आफूहरूलाई नक्कली भुटानी शरणार्थी बनाउन एक करोड ८५ लाख रुपैयाँ लिएको जाहेरीमा उल्लेख छ।

जाहेरी लिएर अपराध अनुसन्धान कार्यालयले थप कारबाहीका लागि साउन २६ गते जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ। त्यही दिनदेखि नै अनुसन्धान अगाडि बढाइएको हो।

जाहेरी दिएका १८ जनामध्ये ४ जनाको बयान लिइएको शरणार्थी प्रकरण अनुसन्धान गरिरहेका प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए।

‘काठमाडौंका तीन जना र संखुवासभाका एक जनाको बयान लिइसकेका छौं, बाँकी जाहेरीकर्ताको पनि छिट्टै बयान लिन्छौं,’ उनले भने।

बयानका क्रममा जाहेरीकर्ताले तीन जनालाई पैसा दिएको प्रमाण बैंक स्लिप प्रहरीलाई बुझाएका छन्। उनीहरूले बुझाएका प्रमाण सही हुन् कि होइनन् भन्ने प्रमाणित गर्ने काम भइरहेको ती प्रहरी अधिकारीले जानकारी दिए।

थप १८ जना जाहेरीकर्ताको बयान लिइसकेपछि उनीहरूले किटानी गरेका व्यक्तिहरूको फेरि बयान लिइनेछ। फेरि बयान लिँदा पहिलो चरणजस्तो विस्तृत रूपमा हुँदैन। पीडितले दिएको बयानको बारेमा सोधपुछ मात्र हुने उनले बताए।

छुटाउनुभयो कि ?