एकीकृत समाजवादीले तोक्यो महाधिवेशनको मिति

एकीकृत समाजवादीले तोक्यो महाधिवेशनको मिति

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले महाधिवेशनको मिति तोकेको छ । सो पार्टीको बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशनको मिति तोकेको बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । उनले उक्त महाधिवेशनलाई दशौं महाधिवेशन भनेका छन् । जबकि उक्त पार्टी गठन भएपछि पहिलो पटक महाधिवेशन हुन लागेको हो ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले आगामी असोज महिनामा पार्टीको मुद्दाहरु राष्ट्रलाई सुनाउन मेची महाकाली राष्ट्रिय अभियान चलाउने केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ । अभियानको विस्तृत योजना सचिवालयले गर्नेछ । 

बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक तथा वैचारिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । त्यसैगरी महाधिवेशन अघि पार्टीमा युवा सहभागिता बढाउने उद्देश्यले युवा विद्यार्थी लक्षित विशेष कार्यक्रमहरु सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । 

कार्यक्षेत्रको विभाजन गर्दा सामान्यतया संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटी सदस्यहरुको जिम्मेवारी पनि तोक्ने सो पार्टीले जनाएको छ । मंसिर मसान्तसम्म कमिटी नभएका पालिका तथा वडाहरुमा कमिटी गठन गर्न सबै कमिटीहरुले सदस्यता वितरण गर्न संगठनात्मक क्षेत्रको महत्त्वपूर्ण काम गर्ने पनि सो पार्टीले निर्णय गरेको छ । सबै जनसंगठनले पार्टीको महाधिवेशनलाई केन्द्रित गरी भदौ मसान्तसम्म संगठन तथा प्रचार गर्न कार्ययोजना बनाउन निर्देशन दिएको छ । 

महाधिवेशनसम्म जाँदा केक र आबद्ध निकायका नेताहरुको कार्यक्षेत्र हेरफेर गर्न सचिवालयलाई जिम्मेवारी प्रदान गरिएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए ।