कोशी प्रदेश सरकारले पायो विश्वासको मत, वैधानिकतामाथि प्रश्न

कोशी प्रदेश सरकारले पायो विश्वासको मत, वैधानिकतामाथि प्रश्न

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री थापाको पक्षमा ४७ मत र विपक्षमा ३० मत परेको छ । बैठकमा १६ प्रदेशसभा सदस्य अनुपस्थित रहेका थिए । 

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आज मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन् ।  विपक्षी दल एमालेले विश्वासको मत लिने क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै त्यसलाई अस्वीकार गर्ने बताएको छ । 

उपसभामुखको अनुपस्थितिमा सोमबारको बैठकको सभाध्यक्ष गरेका इस्राइल मन्सुरीले भोटिङका क्रममा सांसद गीता तिम्सिनालाई बोलाएपछि संसदमा हंगामा सुरु भएको थियो । 

उनले गीतालाई सभाध्यक्ष गर्न दिएपछि सोही क्रममा थापाको पक्षमा भोट त हाले तर विपक्षी दलका सांसदले चर्को नाराबाजी गरे । नाराबाजीका बीच फेरि सभाध्यक्ष गरेर मन्सुरीले थापाले प्रदेशसभाको विश्वासको मत पाएको घोषणा गरे । 

थापाको पक्षमा ४७ मत प्राप्त भयो भने विपक्षमा ३० मत पर्यो । अन्य सांसद भने प्रदेशसभामा विश्वासको मत फेल गराउने लक्ष्यका साथ अनुपस्थित भएका थिए ।

गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले आज विश्वासको मत  लिएका हुन् । प्रदेशसभाको अर्को बैठक यही भदौ ६ गते दिनको ३ बजे बस्ने छ ।